Wednesday, October 25, 2017

सामा चकेवा पर्व शुरु

मिथिलाञ्चल क्षेत्रमा भाइबहिनीबीचको अमर प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व आजदेखि शुरु हुदैछ ।

छठ पर्वको दोश्रो दिन आज खरना भएकाले साँझदेखि यो पर्व शुरु हुनेछ । प्रत्येक दिन साँझदेखि मध्यरातिसम्म घरघरका महिला चौवटिया (गाउँको खुल्ला स्थान) मा जम्मा भएर आ–आफ्ना डालामा माटोले निर्मित आर्कषक एवं कलात्मक सामा चकेवाको मूर्ति राखी विभिन्न किसिमका लोकगीत गाएर यो पर्व मनाइने गरिन्छ ।

मिथिलाञ्चलमा आजबाट शुरु भई कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म आ –आफ्ना दाजुभाइको स–ुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै दिदीबहिनीले घर÷घरमा मनाइने सामा चकेवा पर्वले यस क्षेत्रमा छुट्टै रौनक नै छाएको छ ।

तराई–मधेशमा भाइबहिनबीचको अमर प्रेम प्रतीकको रुपमा मनाइने रक्षाबन्धन, भरदुतिया जस्तै यो पर्व पनि एक हो । मैथिल र भोजपुरी समाजमा दश दिनसम्म मनाइने यस पर्वमा सामा चकेवा भन्ने पात्रलाई समर्थन गर्दै चुगला भन्ने कुपात्रलाई व्याङयात्मक ढंगले गीत संगीतको माध्यमले गालीगलौज गर्दै बेइज्जती गरेका हुन्छ ।

सामा चकेवा बारेमा एक किंवदन्ती समेत रहेको पाईन्छ । द्वापर युगमा भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई “चरा” बन्ने श्राप दिएपछि पुनःमानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ ।

सामाकी नोकरानी डिहुलीले सामा वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए ।

सामाको भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाटमुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन, उसका दाजुभाइ दीर्घायु हुने बरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भन्ने संज्ञा दिएर बनाएका माटाका मूर्तिको नै विशेष महत्व रहेको पाइन्छ । यो पर्व मनाउनका लागि प्रत्येकले आ–आफना रंगिन डालामा सामा, चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया, वृन्दावन जंगल, भूmठो कुरा लगाउने (चुगला)का साथै बनाइएका आकर्षक एवं कलात्मक मूर्ति रहेका हुन्छन् ।

यता भोजपुरी र मैथिली भाषामा निर्मित यस्ता गीतसंगीतले यतिखेर मिथिलाञ्चल क्षेत्रलाई नै रोमाञ्चक बनाएका छन् । यो पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आपूmलाई चाहिएका सरसामान पनि गीतको माध्यमबाट सुनाउने प्रचलन छ ।

पछिल्लो समयमा तराई–मधेशमा हिंसात्मक घटनामा आएको बृद्धिका कारण खुलेर यो पर्व मनाउन नपाएको गुणासो नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोको छ ।

समाजिक एवं सांस्कृति महत्व झल्किने यस्ता पर्वको संरक्षण गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

गौशाला नगरपालिकाका नरेन्द्र सिंहले सहज र खुला रुपमा यो पर्व मनाउने वातावरण सृजना गर्न सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो ।

छठपूजा घाट सजाउनमा व्यस्त छन् – युवा

छठपर्वको मुख्य दिनको पूजाका लागि जलाशयको घाट सजाउने कार्यमा यहाँका युवा लागिपरेका छन् ।

महोत्तरीको गौशालास्थित मरहा नदी, बर्दिवासस्थित रातु नदी, बलवास्थित जंगा नदी, सदरमुकाम जलेश्वरमा रहेको विभिन्न पोखरीलगायत ग्रामीण भेगमा रहेका इनार, पोखरीलगायतका जलाशययुक्त घाटलाई टेण्ट, बिजुली बत्ती र उपयुक्त बासस्थानको व्यवस्थापनमा यतिखेर स्थानीय युवा व्यस्त देखिन्छन् ।

चार दिनसम्म मनाइने छठपर्वको मुख्य पूजा गर्ने दिन षष्ठी तिथि अर्थात बिहीबार साँझ मनाउने मुख्य पूजा गर्नका लागि स्थानीय क्लब, युवा तथा सर्वसधारण व्रतालु पायकपर्ने नदी, तलाउ, इनारलगायतका जलाशयको घाटलाई बेहुली झै सिगार्नमा व्यस्त देखिएका छन् ।

बिहीबार साँझ मनाइने छठको मुख्य पूजा गर्नका लागि प्रायःजसो व्रतालु रातभरि नै घाटमा बिताउनुपर्ने भएकाले त्यसको उचित प्रबन्ध मिलाउने कार्यमा यहाँका युवा जुटेको गौशाला नगरपालिकाका प्रदीप महतोले बताउनुभयो ।

घाटलाई झिलमिली गरी सजाउनुका साथै रातिमा बिजुलीको व्यवस्था गर्नका लागि गाउँमा चन्दास्वरुप आर्थिक स्रंोत जुटाएको महतोले जानकारी दिनुभयो ।

छठ पर्वको दोश्रो दिन आज व्रतालुले निराहर व्रत बसेर साँझ घरमा पकाएको सख्खरको खिर चढाएर प्रसादग्रहण गरी खरना पर्व मनाइँदैछ ।

बिहीबार अस्ताउँदो र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गरिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts