Wednesday, October 4, 2017

नगरकोटमा पर्यटन शुल्क उठाएकोप्रति व्यवसायीको विरोध

भक्तपुरको नगरकोट आउने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेपछि व्यवसायीले त्यसको विरोध गरेका छन् ।

उनीहरुले आज चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदै नपाको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले नपाले निर्णय नसच्याए व्यवसाय नै बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

चाँगुनारायण नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाहिरी पर्यटकअन्तर्गत सार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति रु ३०० र अन्य देशकासँग ४०० लिने गरी ठेक्का दिएको छ ।

नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले पर्यटकसँग शुल्क उठाउने नाममा ठेकेदार पोस्ने काम गरेको आरोप लगाउँदै तत्कालै सो निर्णय फिर्ता लिन माग गर्नुभयो । उहाँले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउको कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

अर्का व्यवसायी एवं समितिका प्रवक्ता गोकुल शर्माले नगरपालिकाले व्यवसायीसँग बिना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाउने काममा नगरप्रमुख मिश्रले अगुवाइ गरेको बताउँदै सो निर्णय तत्काल सच्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा नगरप्रमुख मिश्रले नगरकोट आउने पर्यटकसँग शुल्क लिनु गल्ती भएको बताउनुभयो । उहाँले व्यवसायीसँग छलफल नगरी एकतर्फीरुपमा नगरपालिकाले पर्यटन शुल्क उठाउएकोमा गल्ती भएको स्वीकार गर्नुभएको हो ।

उहाँले विगत तीन वर्षदेखि कार्यान्वयन हुन नसकेको निर्णय आफूले कार्यान्वयनमा मात्र ल्याएको बताउँदै भन्नुभयो, “संस्थागतरुपमा छलफल गर्न कमजोरी भएको हो, यसमा हामी चुक्यौँ, त्यसलाई सुर्धार्छौं । कमजोरी भएको हो, गल्ती भएको हो, नाटा, हान, पर्यटन बोर्डलाई खबर गर्नुपर्ने थियो ।”

नगरप्रमुख मिश्रले व्यवसायीसमक्ष नगरकोटको विकासका लागि आफू प्रतिबद्ध भएको बताउँदै सो ठाउँमा एक महिनाभित्र सोलार बत्ती, सार्वजनिक शौचालय, दुई वटा भ्यु पार्क र टुरिस्ट बसपार्क बनाउने योजना रहेको पनि सो अवसरमा जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts