Thursday, November 2, 2017

चीन पठाउने गैँडाका लागि निकुञ्जमा ‘बुमा’ बनाउन शुरु

चीनमा पठाउने दुर्लभ एकसिंगे गैँडा राख्नका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहामा ‘बुमा’ (गैँडा राख्ने विशेष स्थान) को निर्माण शुरु भएको छ ।

सौराहाको निकुञ्ज कार्यालयसँगै जोडिएको जंगलमा बुमा निर्माण गर्न थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । सौराहा नजिकै जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको ‘बुमा’ बनाउन थालिएको उहाँको भनाइ छ । बुमाको चारैतर्फ तल्लो भागमा कङ्क्रिट पर्खाल लगाइने र माथिल्लो भागमा मेस जाली लगाइने उहाँको भनाइ छ ।

उक्त चौघेराभित्र गैँडा मात्रै अट्ने विशेष प्रकारको खाल्डो बनाइने र गैँडालाई राखेर खानेकुरा दिइने निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

एकैचोटि गैँडा पठाउँदा मर्न सक्ने भएकाले पहिले बानी पारेर पठाउनुपर्ने हुँदा बाह्य देशमा यसरी गैँडा लैजाँदा बुमामा राखेर पठाइने गरिन्छ । पठाउनु अघि करिब एक महिना गैँडालाई बुमामा राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैँडा लैजाने विषयमा केही दिनअघि चिनियाँ अधिकारी आएर आगामी तीन महिनाभित्रमा गैँडा लैजाने सहमति भएपछि बुमा निर्माणको काम थालिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले आगामी तीनदेखि चार महिनाको अन्तरालमा गैँडा पठाइने जानकारी दिनुभयो । चितवनबाट लैजाने दुई जोडी गैँडालाई चीनको चिमे लङ्ग सफारी पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ ।

अर्ना जसरी गैँडा पनि म¥यो भने समस्या आउने भएकाले पहिलो चरणमा चितवन निकुञ्जको सौराहा सेक्टरमा बुमा (एक प्रकारको खोर)मा राखिनेछ । सरकारले २०७३ साल असारमा दुई जोडी गैँडा चीनलाई उपहार दिने निर्णय गरे पनि अहिले मात्र पठाउने प्रक्रिया थालिएको हो । चार वर्षभन्दा कम उमेरका गैँडा पठाइने निकुञ्जले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts