Wednesday, November 1, 2017

हाँकुको गिडीखोलामा जलविद्युत् आयोजना शिलान्यास

तातोपानी गाउँपालिका–४, हाँकु, जुम्लामा रु १५ करोड लागतको २१४ किलोवाटको गिडीखोला लघु जलविद्युत् आयोजनाको बुधबार शिलान्यास गरिएको छ ।

आयोजनाको शिलान्यास जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख लालबहादुर सार्कीले गर्नुभयो । आयोजनाको निर्माण गर्ने जिम्मा गौरा कन्स्ट्रक्सन एण्ड नेपाल हाइड्रो इनर्जी कन्सर्न प्रालिले लिएको छ ।

आयोजनाको शिलान्यास गर्दै जिसस प्रमुख सार्कीले अहिलेसम्म भनेको अवधिमा कसैले कुनै पनि आयोजनाको निर्माण कार्य तोकिएको मितिभित्र सम्पन्न नगरेको अवस्थामा यदि निर्माण कार्य जिम्मा लिएको कन्सर्न प्रालिले एक वर्षभित्र सफल गरे पुरस्कृत गर्ने वचन दिनुभयो ।

प्रमुख सार्कीले भन्नुभयो, “लामो समयको प्रयासपछि आयोजनाले मूर्तरुप पाउने भएको छ । यसबाट दुई हजार ४०० घरधुरी लाभान्वित हुने भएका छन् ।”

आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु पाँच करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋण रु एक करोड ६३ लाख ४० हजार र सिँचाइ विकास सव–डिभिजन कार्यालय जुम्लाले रु चार करोड ११ लाख ५२ हजार लगानी गरेको जानकारी दिनुभयो ।

त्यसैगरी, उपभोक्ताको शेयर रु एक करोड ५० लाख रहेको उहाँको भनाइ छ । उहाँका अनुसार पटकपटकको सर्वे डिजाइनबाट आयोजनाका लागि रु १० लाख खर्च भइसकेको छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, “२०६१ सालदेखि विद्युत् निर्माणका लागि पहल शुरु गरेको १५ वर्षपछि सिलान्यासको क्षणमा पुगेका छौँ, यसमा मलाई निकै गर्व लागेको छ ।” कार्यक्रममा नेकपा ९एमाले०का जिल्ला सचिव आदिप्रसाद न्यौपानेले निर्माण कार्यमा पर्ने समस्याका निम्ति सक्दो सहयोग गर्न तयार रहेको जनाउनुभयो ।

नेकपा ९माओवादी केन्द्र० का आयोजक कमिटी सदस्य दीपक गौतमले निर्माणको जिम्मा लिएका व्यवसायीले यसमा बढी दायित्वबोध गर्नुपर्ने औँल्याउनुभयो । यता तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सल्ला र देवदारको दियालोको सहारामा बाँचेका ग्रामीण बासिन्दाले अब उज्यालो पाउने विश्वास दिलाउनुभयो । यसमा गाउँपालिकाले गर्नुपर्ने योगदानका लागि आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।

आयोजनाको जिम्मा लिएका प्रालिका प्रोपाइटर वीरबहादुर घलेले आउँदो दशैँसम्म निर्माण कार्य सम्पन्न गरिछाड्ने संकल्प गर्नुभयो । यद्यपि स्थानीयस्तरमा आउने विघ्नबाधा हटाउन स्थानीय राजनीतिक दल र समुदायलाई उहाँले आग्रह गर्नुभएको थियो ।

उक्त आयोजनाबाट तातोपानी गाउँपालिकाका ६ वडाका दुई हजार ४०० घरधुरी लाभान्वित हुने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts