Sunday, November 26, 2017

आचारसंहिता उल्लङघन : राप्रपाका महामन्त्रीसँग स्पष्टीकरण माग, खरेललाई आयोगमा उपस्थित हुन निर्देशन

काठमाडौ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा आयोग कडा भएर प्रस्तुत भएको जनाएको छ ।
आचारसंहिता उल्लङ्घन गरेका विभिन्न उम्मेदवार तथा व्यक्तिहरुलाई स्पष्टिकरण सोध्नुका साथै आयोगमा उपस्थित हुन निर्देशन दिइएको आयोगका प्रवक्ता नजराज ढकालले जानकारी दिए । यसैक्रममा आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानलाई स्पष्टिकरण सोधेको छ । प्रधानले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो र आफ्नो पार्टीको निर्वाचन चिन्ह राखी प्रचार प्रसार गरेको सूचना आयोगमा प्राप्त भएको र उक्त कार्य निर्वाचन आचार संहिता विपरित देखिएका कारण महामन्त्री प्रधानसँग त्यस विषयमा २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
आयोगले महामन्त्री प्रधानलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,“यहाँलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारवाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४।८।१० को निर्णयअनुसार अनुरोध छ ।”
त्यस्तै निर्वाचन आयोगले रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका प्रधानाध्यापक डा. गीता खरेललाई आचारसंहिता उल्लङ्घनको घटनामा आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल यूट्यूब मार्फत काठमाडौँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा मत मागेर आचारसंहिता उल्लङ्घन गरेको विषयमा आयोगबाट स्पष्टीकरण माग गरिएको र सोको जवाफ प्राप्त भए पनि त्यस सम्वन्धमा थप कुरा बुझनु पर्ने भएकाले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगमा उपस्थित हुन निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरितका दल तथा उम्मेदवारका चुनाव चिह्न हटाउन निर्देशन दिएको छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचार संहिता विपरित सार्वजनिक स्थलहरुमा टाँगिएका राजनीतिक दल र उ्रम्मेदवारहरुको चुनाव चिह्न अंकित झण्डा तथा पार्टीका झण्डाहरुको माला, तोरनहरु हटाउन र हटाउन लगाउन तथा त्यस प्रकारका माला तोरनहरु राख्ने कार्य तत्काल रोक्नका लागि निर्देशन दिएको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts