Monday, November 27, 2017

भूकम्पले क्षतिग्रस्त हनुमानघाटस्थित बुद्ध मूर्तिको जीर्णोद्धार सम्पन्न

भक्तपुर । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर नगरपालिका–७ स्थित प्रसिद्ध तीर्थस्थल हनुमानघाट परिसर खुसी विहारमा रहेको भगवान् बुद्धको ठूलो मूर्तिको जीर्णोद्धार सम्पन्न भएको छ ।

भक्तपुर बौद्ध सम्पदा संघको भूकम्पले क्षतिग्रस्त बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गर्ने योजनाअन्तर्गत गत भदौ ८ गतेबाट शुरु भएको जीर्णोद्धार मंसिर पहिलो साता सम्पन्न भएको हो ।

भक्तपुरको मुनि विहार, इनाचो, वाँचुत्वाःका दाताहरु, स्व रामशेखर नकर्मीको परिवार र अन्य नकर्मी परिवार, इन्द्रवर्त महाविहार, एवं स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा कूल रु एक लाख ३० हजार ३६० को लागतमा जीर्णोद्धार सम्पन्न भएको संघका उपाध्यक्ष सुगतरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

यस स्थानमा भगवान् बुद्ध, प्रज्ञा पारमिताको मूर्ति, महाँकालको मूर्ति, चार वटा चैत्य, मण्डला पनि जीर्ण अवस्थामा रहेकाले ती सम्पदाको संरक्षणका लागि पनि संघले सहयोगका लागि आग्रह गरेको संघका सल्लाहकार पद्मसुन्दर शाक्यले जानकारी दिनुभयो ।

हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल रहेको हनुमानघाट परिसरमा हाल भजन घर, मठ मन्दिरको पुनः निर्माण भइरहेको छ भने संघकै अग्रसरतामा इताछेँस्थित बौद्ध समकृत विहार अगाडिको महाँकाल मन्दिरमा रहेकोे बौद्ध चैत्यको जीर्णोद्धार कार्य सम्पन्न भएको छ । त्यस्तै भक्तपुर थालाछेँस्थित जीर्ण हाकु चिभाःहरुमा जर्मन नागरिक हेनरिक मायरको सहयोगमा तीन वटा चैत्यको माथिल्लो भाग त्रयोदश भुवन पुनःस्थापना गरी मर्मत कार्य तथा हनुमानघाट परिसरमा रहेको प्रज्ञापारमिता मन्दिरको पनि जीर्र्णोद्धार सम्पन्न भएको संघले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts