Wednesday, December 13, 2017

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त

काठमाडौँ ।  मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली काँग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा (माओवादी केन्द्र) ले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ९५ हजार ४४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले एक लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टीले ५० हजार ४०१ र अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मत गणना भइरहेका जिल्लामा सुनसरी, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, काठमाडौँ, चितवन, स्याङ्जा, अर्घाखाँची र प्यूठान, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts