तेह्रथुम। गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । अधिकांशले धान, अलैँची, अम्म्रिसोलगायत बाली लगाएकै छन् । मकै छर्ने, तरकारी लगाउने, तोरी छर्नेलगायत कामको चटारो छ ।
खेती किसानीमा प्रयोग हुने औजारको किनबेच हुनेबेला पनि यही हो । तर पहिलेजस्तो घरेलु औजारको बिक्री वितरण भने हुन छाडेको व्यवसायीले गुनासो गरेका छन् ।
यो याममा सिक्कल, हँसिया, खुर्पा, बाम्फोक, कोदालो कोदाली, काँटालगायत उपकरणको प्रयोग अत्यधिक हुन्छ । वर्खामा भन्दा यस याममा त्यस्ता सामग्रीको व्यापार विगतमा झण्डै तेब्बर बढी हुन्थ्यो । तर अहिले विगतमा जस्तो व्यापार हुन छाडेको व्यवसायीको गुनासो छ । परम्परागतरुपमा दलित समुदायले फलाम कुटेर औजार तयार गर्ने यो पेशा अहिले हराउँदै छ ।
पहिले–पहिले वर्षभरि फलाम कुट्ने दलितले त्यसबापतको थोरै अन्न, फलफूल या अरु केही पाउँथे । त्यहाँ कामअनुसारको दाम पाउनुपर्छ भन्नुको कुनै महत्व हुँदैनथ्यो । तर अहिले त्यो चलन पूर्णरुपमा हराएको छ । दलित या अन्य जातिकाले नै किन नहोस् व्यावसायिकरुपमा आरन व्यवसाय शुरु गरेका छन् ।
विगत दुई दशकदेखि सुधारिएको आरन व्यवसाय सञ्चालन गर्दै आएका आठराई गाउँपालिका–४ का वीरबहादुर विक काम नपाएर व्यवसायप्रति नै निराश भएको बताउनुुहुन्छ ।
“दिनभर दुःख गर्दा एउटा कोदालो बन्छ”, उहाँ भन्नुहुन्छ, “बजारमा ठूला उद्योगबाट बनेको आयातित कोदालो रु पाँच सात सयमा पाइन्छ, हाम्रो दुःखको त कुरा छाडौँ, फलामको पनि दाम उठ्दैन ।”
घरेलु हतियार बनाउने गुणस्तरीय फलाम रु ८० देखि रु १२० प्रतिकिलोमा खरिद गर्नुपर्ने उहाँले बताउनुभयो । कृषि औजार बिक्री हुन छाडेपछि उनलाई व्यवसाय धान्नै समस्या परेको छ ।
परम्परागत बालीघरे चलन छाड्दै आरनलाई व्यावसायिक रूप दिएर चलाउनेहरू केही वर्षयता पेशा धान्न नसकेर दोधारमा छन् । आरनलाई चाहिने कोइला र कच्चा फलाम सजिलै र सस्तो मूल्यमा पाइन छाडेको छ । अर्कातिर बनाएका सामानको किनबेच पनि घटेको छ ।
तीन पुस्तादेखि हँसिया, कोदालो कोदालीलगायत घरेलु औजार बनाउने र मर्मतको काम गर्दै आउनुभएका सोही वडाका उमानाथ विकले पनि अहिले घरेलु औजार बनाउन छाडेको बताउनुभयो । आफू पाको हुँदै जाँदा अस्वस्थ भएको र छोराहरुले त्यो व्यवसायबाट आम्दानी नहुने भन्दै गर्नै छाडिदिएपछि उहाँको आरन थन्किएको छ ।
आरन व्यवसायीले पहिले भाँटीले आगो फुक्थे । जंगलमा धुवाँ उडाउँदै कोइला काट्ने गर्थे । तर अहिले आरन व्यवसाय नयाँ बनाउनभन्दा पनि पुरानै सामग्रीलाई मर्मत सम्भार गर्नमा मात्रै सीमित बन्दैछ ।
आफ्नो जीवनको झण्डै पाँच दशक आरनमै बिताएका छथर गाउँपालिका–१ का शेरबहादुर विकको परिवार अहिले तरकारी खेतीमा लागेका छन् । “पुरानो परम्परागत पेशा छाड्नुपर्दा मनमा निको त लागेको छैन”, उहाँले भन्नुभयो, “तर, छोरानातिले दुःख पाउलान् भनेर पनि आरन छाड्नुप¥यो ।” सोही वडाका युवाले दुई वर्षअघि सामूहिक आरन व्यवसायको अभ्यास गरे ।
तर अहिलेसम्म त्यो पूर्ण असफल जस्तै सावित भएको छ । युवाले जति मेहनत गर्छन्, त्यहीअनुसार मूल्य र बजार नपाउँदा भएको उत्पादनले आम्दानी लिन सकेन । परम्परागत पेशालाई आधुनिकीकरण गर्न भन्दै युवाले आधुनिक कृषि औजार उद्योग नै दर्ता गरी सञ्चालनमा ल्याएका थिए । करिब १५ घरका युवाले मिलेर सञ्चालन गरेको सो व्यवसायलाई लघु उद्यम विकास कार्यक्रमबाट रु दुई लाख १५ हजार अनुदानसमेत प्राप्त भएको थियो ।
तर उद्योगबाट उल्लेख्य लाभ लिन नसकेपछि उद्योग नै बन्द हुने अवस्थामा पुगेको सञ्चालकमध्येका एक इन्द्रबहादुर विकले बताउनुभयो । घरेलु औजार बनाउन ल्याएका आधुनिक मेसिन ग्यालेन्डर मेसिन, कटिङ मेसिन, वेल्डिङ मेसिन र ड्रिल मेसिनलगायत सामान अहिले त्यत्तिकै थन्किएका छन् । पछिल्लो समय गाउँतिर खेती किसानीमा लाग्नेको संख्या घट्नु, सीमितले गरेको कृषिमा पनि आधुनिक उपकरणको प्रयोग बढ्नु, बजारमा आधुनिक घरेलु हतियारको उपलब्धता बढ्नुलगायतका कारण स्थानीय श्रम र सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
सीमित किसानले प्रयोग गर्ने उस्तै घरेलु हतियारको मूल्य स्थानीयवासीले उत्पादन गरेको भन्दा बजारमा आधा सस्तोमा पाइन थालेको छ । आरन चलाउन चाहिने कोइला र फलाम नपाइने समस्याले व्यवसायी उत्तिकै चिन्तित छन् ।
“यहाँको सानो बजारमा खानीबाट निकालिएको कोइला पाउने कुरै भएन”, आरन व्यवसायी विक भन्नुहुन्छ, “दाउराबाटै कोइला बनाएर प्रयोग गर्नुपर्छ ।”
यो व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन आयातित हतियार प्रतिबन्ध गरी प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालीम आवश्यक रहेको व्यवसायीको भनाइ छ ।
“घरेलु सामान आयातितभन्दा धेरै गुणस्तरीय हुन्छ, विकले भन्नुभयो, “सरकारले त्यस्ता आयातितलाई प्रतिबन्ध गराएर घरेलु उत्पादनलाई प्रयोगमा ल्याए किसान पनि ठगिने थिएनन्, हामी जस्ता युवाले रोजगारी पनि पाउने थियाँै ।” यसबारे पछिल्लो पुस्तालाई तालीम, चेतना र व्यावसायिक तालीमको खाँचो रहेको उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment