Tuesday, December 19, 2017

गाउँपालिकाद्वारा आपत्कालीन कोष स्थापना

बाबियाचौर, म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि रु एक÷एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

आठवटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला र गरिब विपन्नको उपचारमा सहयोग गर्नका लागि कोष स्थापना गर्न पहिलो चरणमा रु एक÷एक लाख उपलब्ध गराउने निर्णय भएको गाउँ कार्यपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

कार्यविधि बनाएर कोषबाट सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका महिलालाई यातायात खर्चबापत सहयोग गरिने प्रवक्ता बरुवालले बताउनुभयो । बैठकले गाउँपालिकाका विभिन्न योजनाका लागि बजेटसमेत विनियोजन गरेको छ ।

हिस्तान—राम्चे सडक स्तरवृद्धिका लागि रु ५० लाख विनियोजन भएको छ । चित्रेदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक निर्माणका लागि रु १० लाख विनियोजन गरेको छ । उक्त योजनाका लागि ६ नं वडा कार्यालयले यसअघि रु पाँच लाख विनियोजन गरेको थियो ।

नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ जोड्ने सडकको ट्रयाक खोल्न रु २० लाख विनियोजन भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सवलाई रु दुई लाख विनियोजन गरेको गाउँपालिकाले पुस ८ गते भुरुङ तातोपानीमा आयोजना गरिएको निःशुल्क मुटुरोग शिविरका लागि रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रत्येक वडाका महिला र दलित समुदायको क्षमता तथा नेतृत्व विकाससँगै सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम गर्न रु दुई लाख ४० हजार विनियोजन गरेको छ । अपांगता परिचयपत्र वितरणका लागि पुस २१ र २२ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालनका लागि रु एक विनियोजन गरेको छ । हालसम्म अपांगता परिचयपत्र प्राप्त गर्न नसकेका गाउँपालिकाका सबै वडाका अपांगता भएका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिने प्रवक्ता बरुवालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts