तेह्रथुम। यहाँको तीनजुरे—मिल्के—जलजले (टिएमजे) क्षेत्रको दिगो व्यवस्थापनका लागि १० वर्षे संरक्षित वन परियोजना लागू भएको छ ।
पर्यापर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको टिएमजे क्षेत्रमा वन मन्त्रालयले यहाँका जिल्ला वन कार्यालयमार्फत दश वर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना बनाई काम थालेको हो ।
टिएमजे क्षेत्रमा तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङ जिल्लाका साविकका २५ गाविस पर्दछन् । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस एकै ठाउँमा रहेकाले यो क्षेत्रलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ । जैविक विविधतायुक्त यो क्षेत्रमा संरक्षित लोपोन्मुख वन्यजन्तु र जडीबुटी पाइन्छन् । आगामी पाँच वर्षमा गरिने कार्ययोजना ‘ग्रीन सोलुसन नेपाल’ ले तयार गरेको हो ।
सोही कार्ययोजनाबमोजिम काम शुरु भएको तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो । कार्ययोजना तयार गर्दा प्रभावित क्षेत्रका बासिन्दासँग पटकपटक छलफल र अन्तक्र्रिया गरिएको सोलुसनका कार्यकारी निर्देशक कृष्ण भुजेलले बताउनुभयो ।
पहिलो चरणको कार्यक्रममा वन संरक्षण तथा सम्वद्र्धनमा रु ५७ लाख ३६ हजार, वन क्षेत्रमा पूर्वाधार निर्माणमा रु २४ लाख १० हजार, हरित उद्यम तथा आयमूलक कार्यक्रममा रु १७ लाख, प्रशासनिक खर्चमा रु १९ लाख ६९ हजार गरी कुल रु एक करोड १८ लाख १५ हजार खर्च हुने वन अधिकृत पोखरेलले बताउनुभयो ।
आगामी पाँच वर्षमा यी काम सम्पन्न भएपछि थप पाँच वर्षे योजना बनाइने बताइएको छ । मन्त्रालयले गत आवमा खर्च गर्ने गरी रु १६ लाख वन कार्यलयमार्फत पठाएको थियो ।
टिएमजे क्षेत्रमा हुने वन संरक्षण, सम्वद्र्धन र उपभोगको अधिकार भने स्थानीय बासिन्दा र सामुदायिक वनका उपभोक्तालाई हुनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघको भनाइ छ ।
“संरक्षण क्षेत्र घोषणा हँुदा स्थानीय बासिन्दा र वन उपभोक्ताको अधिकार कटौती हुनुहँुदैन भन्ने हाम्रो माग हो” महासंघका जिल्ला अध्यक्ष तुलसी संग्रौलाले भन्नुभयो । टिमएजे क्षेत्रलाई स्थानीयले विगत डेढ दशकदेखि समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न माग गर्दै आएका थिए ।
यो तिब्बतको झोमोलोङ्मा प्रकृति आरक्षसँग गाँसिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा संरक्षण क्षेत्रबीच पर्छ । यो भुटानको जैविक कम्प्लेक्समार्फत नेपाललाई भारत, चीन र भुटानसम्म जोड्ने प्राकृतिक करिडोरसमेत हो ।
यो क्षेत्रमा स्थानीय राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता महासंघ, लालीगुराँस महिला समितिसँग मिलेर अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले एक दशकसम्म संरक्षण र व्यवस्थापनको क्षेत्रमा काम गरेको थियो ।
टिएमजे क्षेत्रलाई तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयको प्रस्तावमा २०५५ असार २९ को मन्त्रिपरिषद् निर्णयले लालीगुराँस संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
घोषणापछि स्थानीय बासिन्दाले आफ्नो भूमिका के हुने ? भनेर विरोध जनाएपछि घोषणा कार्यान्वयन हुन सकेको थिएन । सरकारले त्यसताका वातावरण संरक्षण ऐन, २०५३ को दफा १० को अधिकार प्रयोग गरी संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
वातावरण संरक्षण नियमावली—२०५४ को नियम ३० मा वातावरण संरक्षण क्षेत्रमा नियन्त्रित काम सूचीकृत गरिएका छन् । यो क्षेत्रमा चैत, वैशाखमा विभिन्न प्रजातिका रंगीचंगी गुराँस फुलेर ढकमक्क भएको हुन्छ । अन्य समयमा पनि यहाँका डाँडाकाँडा, पाखापखेरा, सुन्दर प्राकृतिक गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी, सभापोखरी आदि यहाँका मुख्य आकर्षण हुन् ।
यो क्षेत्रमा पदमचाल, कुड्की, बिखुमा, सतुवा, ठूलो ओखत, विष, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जनभन्दा बढी जडीबुटी पनि पाइन्छन् ।
एकसय २० प्रजातिका पुतली, लिडेमुसा, रातो पान्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञ बताउँछन् । यो क्षेत्रमा शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू तथा तामाङ जातिको परम्परा, संस्कृति, वेषभूषा, रहनसहन यहाँका सांस्कृतिक आकर्षण हुन् ।
No comments:
Post a Comment