Wednesday, December 13, 2017

नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

चितवन, २७ मंसिर (रासस) ः नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ ।

गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उहाँले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताउनुभयो ।

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उहाँले भन्नुभयो “नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै कुरा आउँछ ।” नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उहाँले भन्नुभयो, “अहिलेको समयमा परामर्श गरौँ, काँग्रेस शुद्धीकरण गराँै अनि निर्णय गरौँ ।”

पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उहाँले बताउनुभयो । अब काँग्रेसले के गर्छ भन्ने अर्को एक जिज्ञाशामा उहाँले भन्नुभयो, “केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।” उहाँले थप्नुभयो, “क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।”

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उहाँले भन्नुभयो, “हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ ।” हारका कारण हतास हुन नपर्ने भन्दै उहाँले भन्नुभयो, “हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे काँग्रेसको भविष्य उज्ज्वल छ ।” महामन्त्री कोइरालाले थप्नुभयो, “काँग्रेस समाप्त भएको छैन । गुटको अन्त्य गरेर सच्चिने काँग्रेसका लागि अन्तिम मौका हो ।”

अहिले काँग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै उहाँले ७० वर्षको इतिहास बोकेको काँग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको काँग्रेस आई को जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन् ।”

भारत र चीन दुवै देशसँगको सम्बन्ध बिपी कोइरालाले स्थापित गरेको भन्दै उहाँले आगामी दिनमा काँग्रेसले दुवै देश सँगको सम्बन्ध अरू सुमधुर बनाउने बताउनुभयो ।

काँग्रेसको पहिलेदेखि नै समाजवादी चिन्तन भएको भन्दै उहाँले समाजवादी चिन्तनबाट हिँड्दा मात्रै देशको भविष्य बन्ने बताउनुभयो । नेपाली काँग्रेस रहेसम्म लोकतन्त्र र समाजवाद जीवित रहने महामन्त्री कोइरालाले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts