Thursday, December 21, 2017

घर सुधार गराएर अनुदान दिन हात्तीपाइले पीडितको माग

मलेखु।  हात्तीपाइले लागेर समस्यामा परेका गाउँवासीले गाउँमा प्राविधिक नआएकाले आफूहरुले सरकारले तोकेको १७ मोडेलको घर सुधार गरेर भएपनि अनुदान दिन माग गरेका छन्् ।

इन्सेक र गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँवासीले भूकम्प प्रभावितका बनेका घरको सबै घरको रकम दिन माग गरेका हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित गाउँबस्ती अधिकांश कुमाल र दराइको बस्ती रहेका छन् । हात्तीपाइले प्रभावित गाउँ भएकाले उनीहरुले प्रविधिको अभावमा निर्माण गरेका घरको पनि सरकारले दिने अनुदान रकम उपलब्ध गराउन गाउँवासीले माग गरेका छन् ।

जिल्लामै सबैभन्दा कम दोस्रो किस्ता पाउने गाउँका रुपमा रहेको यस वडाका ८८४ लाभग्राही रहेका थिए । ८५४ जनाले पहिलो किस्ता रकम पाएकोमा ३४ जनाले मात्र दोस्रो किस्ताको रकम पाएको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत पुनःनिर्माण प्राधिकरणका प्राविधिक इञ्जिनियर सुनिलकुमार श्रेष्ठले बताउनुभएको छ ।

गाउँवासीले निर्माण गरेका घर प्राविधिक रुपले नहुने भए सच्याउन र मिलाउन गाउँवासी तयार रहेको तर सबै घरलाई अनुदान दिन माग गर्दै आवश्यक प्रक्रिया पु¥याउन गाउँपालिकालाई समेत आग्रह गरेका थिए ।

वडाध्यक्ष भोजबहादुर रिजाल र कृष्णबहादुर खत्रीले गाउँपालिका र वडाले प्राविधिकलाई परेको समस्या समाधान गर्न र नीतिसमेत बनाएर लागू गर्न तयार रहेको तर नागरिकले बनाएका सबै घरलाई अनुदान दिने गरी सिफारिश गर्न र प्राविधिकरुपमा नबनेका घरलाई सुधार गर्नसमेत तयार रहेको बताउनुभएको थियो ।

गरिब गाउँवासी भएकाले गाउँपालिकाले सबै किसिमले सहयोग गर्ने बताउँदै गाउँपालिका अध्यक्ष शम्भु थापाले गाउँपालिकाले नियमानुसार निर्णयसमेत गरेर नीतिगत रुपमा समेत जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

भूकम्प प्रभावित गाउँमा ५० को संख्यामा हात्तीपाइले भएकाको समस्या रहेको र उनीहरुले समेत घर बनाउन नसकेको अवस्थामा समस्यामाथि समस्या आएको दलबहादुर दरइले बताउनुभयो ।

दुवैखुट्टामा हात्तीपाइले भएर काम गर्नसमेत नसक्ने भएका लालबहादुर दरइ र सेती दरइले आफ्नो घर बनाउन प्राविधिकले कहिल्यै सल्लाह नदिएको तथा सडक क्षेत्रमा मात्र गएकाले आफ्नो गाउँमा प्राविधिक आउनुपर्नेमा जोड दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts