Wednesday, December 6, 2017

झिलमिला ताल हेर्ने भ्यू टावरको सम्भाव्यता अध्ययन

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालको मनोरम दृश्य नियाल्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको छ ।

भ्यू टावर निर्माणका लागि भीमदत्त नगरपालिकाले नियुक्त गरेको परामर्शदाताले सम्भाव्यता अध्ययनको कार्य शुरु गरेको छ । नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताल हेर्नका लागि पुग्ने पर्यटकलाई दृष्यावलोकन गर्न सहजता प्रदान गर्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको बताउनुभयो ।

पर्यटकलाई दृष्य अवलोकनका लागि टावर निर्माण गर्न लागेका छौँ, नगर प्रमुख विष्टले भन्नुभयो “त्यसका लागि अहिले काठमाडौँको परामर्शदाताले प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु गरेको छ ।” सम्भाव्यता अध्ययनको कार्य पूरा भएपछि निर्माणको कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

भीमदत्त नगरपालिकाको पहिलो नगरसभाबाट भ्यू टावरका लागि बजेट विनियोजन गरिएको थियो । चुरेमा पर्ने झिलमिला तालमा आउने पर्यटक र भक्तजनलाइ लक्षित गरी भ्यू टावर बनाउन लागिएको हो । दिनभरि तीनथरि रङ बदल्ने झिलमिला ताल धार्मिक पर्यटनको केन्द्रका रुपमा रहेको छ ।

नगरपालिकाले यस वर्ष झिलमिला तालसम्म कालोपत्रे सडक निर्माणको कार्य समेत अघि बढाएको छ । नगरपालिकाको शहरी विकास कार्यक्रमअन्तर्गत सडक कालोपत्रेका लागि ठेक्का दिइएको छ ।

नगरप्रमुख विष्टले झिलमिलासम्म निर्माण हुने पक्की सडकले झिलमिलाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । भीमदत्त नगरपालिकाका अध्यक्ष राम नाथले झिलमिलासम्म पक्की सडक बनेपछि पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts