Thursday, December 21, 2017

स्रष्टा शाह र शर्माको निधन

काठमाडौँ । साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको आज निधन भएको छ ।
शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२ वर्षका उमेरमा आज निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिनुभयो । ।
श्रीमती शाह केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । शाहको ‘पहेंलो गुलाफ’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बज्यैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा ‘आकाश विभाजित छ’ लगायत कृति प्रकाशित छन् । उहाँ विशेषगरी यौन साहित्यमा कलम चलाउनुहुन्थ्यो । उहाँ छोरी चलचित्र नायिका जल शाहसँग एक दशकदेखि अमेरिकामा बस्दै आउनुभएको थियो ।
यसैगरी सङ्गीतकार शर्माको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार सायमीले बताउनुभयो । उनासी वर्षीय शर्माको हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो । आफ्नो घर स्थानीय वसुन्धरामा बिहान अस्वस्थ भएपछि उपचारका लागि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
शर्माले पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ तथा ‘मुनामदन’, ‘शकुन्तला’, ‘सावित्री सत्यवान्’, ‘कुञ्जिनी’लगायत गीति नाटकमा संगीत दिनुभएको थियो । शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शर्मालाई छोरा गायक सुदेशले दागबत्ती दिनुभएको थियो । शर्माका पिता यज्ञराज पनि सङ्गीतकार हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts