Thursday, December 21, 2017

दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए

खोटाङ।  जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी संघ, खोटाङका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

“यसअघि जिल्लामा निर्माण भएका सडकमा पनि यातायात सञ्चालन भएको थिएन”, उहाँले भन्नुभयो, “सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर यस वर्षदेखि सबै स्थानीय तहमा यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।”

सबै स्थानीय तहबाट सदरमुकाम दिक्तेलसम्म सिधा यातायात शुरु भएपछि दुर्गम क्षेत्रका स्थानीयबासीसमेत एकै दिनमा घरबाट हिँडेर पुनः घरै पुग्न थालेका छन् । यातायात सेवा नहुँदा यसअघि जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका स्थानीय तीन दिनसम्मको पैदल यात्रापछि सदरमुकाम आउने गरेका थिए ।

जयरामघाटमा पक्की पुल बनेपछि उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाबाट सिधै काठमाडौँ, कटारीलगायतका ठाउँमा समेत सिधा यातायात शुरु गरिएको महासचिव हिङ्माङले जानकारी दिनुभयो । गत मंसिर ८ गतेदेखि दूधकोशीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि खोटाङ राजधानी काठमाडौँलगायत अन्य जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको हो ।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि गत मंसिर १९ गतेदेखि छिमेकी जिल्ला भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ । अर्को छिमेकी जिल्ला भएर तराईका अन्य जिल्ला जोड्ने फोक्सिङ्टारस्थित सुनकोशीमा निर्माणाधीन अस्थायी बेलिब्रिज जडान सकिएलगत्तै दिक्तेल–गाईघाट सडक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको यातायात व्यवसायी संघले जनाएको छ ।

विसं २०६४ देखि यातायात सेवा शुरु भएको जिल्लामा अहिले साना ठूला गरी करिब २०० को हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । दुईवटा राष्ट्रिय राजमार्गले छोएको खोटाङ जिल्लामा हालसम्म सबै सडक कच्ची अवस्थामै रहेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डमा अहिले तीव्रगतिमा कालोपत्रे गर्ने काम भइरहेको छ । तराईका जिल्ला जोड्ने अर्को सडक सगरमाथा राष्ट्रिय राजमार्गको महुरे–फोक्सिङ्टार खण्डमा पनि कालोपत्रेको काम थालिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts