Thursday, December 7, 2017

ललितपुरमा ६५ प्रतिशत मतदान

ललितपुर। यहाँ झण्डै ६५ प्रतिशत मत खसेको छ ।

सबै मतदान केन्द्रबाट आएको जानकारीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६५ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरेको हो । जिल्लाका सबै क्षेत्रबाट मतपेटिका भने मतगणना हुने स्थानसम्म आइपुग्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो ।
क्षेत्र नं १ का कतिपय मतदान केन्द्रबाट मध्यरातसम्म मात्रै मतपेटिका आइपुग्नेछ । क्षेत्र नं २ र ३ तथा क्षेत्र नं १ को नजिकैका मतदान केन्द्रबाट धमाधम मतपेटिका आइरहेको छ । उहाँले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका गाडीमा लगिसकिएको छ ।” क्षेत्र नं १ का वाग्मती, कोञ्जेसोम र महांकाल गाउँपालिकाका कतिपय केन्द्रबाट जावलाखेल आइपुग्न गाडीमा पाँच÷छ घण्टासम्म लाग्छ ।

प्रतिनिधिसभामा जिल्लाका तीन क्षेत्रमध्ये क्षेत्र नं १ र २ को जावलाखेलस्थित स्टाफ कलेज र क्षेत्र नं ३ को जावलाखेलकै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना हुनेछ । शान्तिपूर्ण सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको दवाडी बताउनुहुन्छ ।
क्षेत्र नं १ का सबै स्थानको मतपेटिका आइपुगेपछि मात्रै मतगणना शुरु हुनेछ । क्षेत्र नं २ र ३ को भने सर्वदलीय बैठक गरेर आज नै मतगणना शुरु गरिने बताइएको छ । जिल्लामा १३१ मतदानस्थलका २७७ केन्द्रमा मतदान भएको हो ।

कञ्चनपुरमा ६९ प्रतिशत मतदान

भीमदत्तनगर। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुरमा ६९ प्रतिशत मत खसेको छ ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले कञ्चनपुरमा एक लाख ८३ हजार ७४२ मत खसेको बताउनुभयो । निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका सदरमुकाम भीमदत्तनगर ल्याउने क्रम जारी छ ।

सप्तरीमा ६० प्रतिशत मतदान

राजविराज।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा ६० प्रतिशत मतदान भएको छ ।

आजै राति अबेरसम्म जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम राजविराज ल्याइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताउनुभयो ।

कास्कीमा ६७ प्रतिशत मतदान

पोखरा।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको छ ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भइसकेको र मध्यरातसम्म सबै केन्द्रका मतपेटिका जम्मा गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार भोलि सर्वदलीय बैठक बसी मतगणना कार्य शुरु गरिने छ ।

कैलालीमा ६७ प्रतिशत मतदान

धनगढी।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैलालीमा करिब ६७ दशमलव ५५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

निर्वाचन सम्पन्न भएसँगै जिल्लाका अधिकांश मतदानस्थलबाट मतपेटिका संकलन गरेर सदरमुकाम धनगढी ल्याउने कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो ।

जिल्लाका क्षेत्र नं ४ र नं २ का दुर्गम र भौगोलिक रुपले विकट क्षेत्रका मतदानस्थलका मतपेटिका भने भोलि मात्रै आइपुग्ने जनाइएको छ । दुर्गम क्षेत्रका कतिपय मतपेटिका ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको छ ।

दलीय सहमतिपछि मतगणना गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts