Saturday, October 31, 2015

उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ५४७ मत खस्यो

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति चयनका लागि भएको मतदान भर्खरै सकिएको छ ।

व्यवस्थापिका–संसद् भवन, नयाँ बानेश्वर, निर्वाचन अधिकृतको कार्यालयका अनुसार अपराह्न २ बजे मतदान सकिएको हो । मतदानमा कुल ५४७ मत खसेको छ । व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संसद्मा रहेका कुल ५९७ सांसद् मध्ये मतदानमा ५४७ सहभागी भएका थिए । मतदान प्रक्रियामा तराई–मधेसमा आन्दोलनरत दल भने सहभागी भएनन् ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका तर्फबाट एकीकत नेकपा(माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी हुनुहुन्छ ।

सचिवालयले उपराष्ट्रपतिमा गोप्य मतदान गर्ने व्यवस्था मिलाएको थियो । गठबन्धनमा सहभागी नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी), मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राप्रपा, नेकपा(माले), नेकपा(संयुक्त), राष्ट्रिय जनमोर्चालगायत १५ दलले उपराष्ट्रपतिमा संयुक्त उम्मेदवार पुनलाई मतदान गर्ने निर्णय यसअघि नै गरेका थिए ।

निर्वाचन कार्यतालिकानुसार अपराह्न २ः३० देखि मतगणना सुरु हुनेछ । यस्तै साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले उपराष्ट्रपतिको मत परिणाम सार्वजनिक गर्नुहुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts