काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाका लागि काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
हालै वैवाहिक बन्धनमा बाँधिएका नेता पौडेल एवम् नेविसङ्घ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको उपचारका लागि कोष निर्माणका लागि रु एक लाख उपलब्ध गराउने जनाउनुभएको हो । वैशाख १५ गते वैवाहिक बन्धनमा बाँधिएका पौडेल–न्यौपाने जोडीले नेपाल प्रेस युनियन काठमाडांँ शाखामार्फत समन्वय गरी कोष निर्माण गर्ने बताउनुभएको हो ।
“परिवारका सदस्यहरूसँग प्रेस युनियन काठमाडौँ शाखामार्फत समन्वय गरी यथाशीघ्र छोराको शिक्षादीक्षाका लागि उपयोगी हुने गरी कोष निर्माण गर्न रु एक लाख उपलब्ध गराउने घोषणा गर्दछौँ” – विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अगुवाइमा सो कोष निर्माणका लागि सहयोगको घोषणा भएको हो । प्रेस युनियन काठमाडौँ शाखाका सदस्यसमेत रहेका केन्द्रीय सचिव क्षेत्रीको वैशाख १६ गते उपचारका क्रममा निधन भएको थियो । रासस
No comments:
Post a Comment