Saturday, October 31, 2015

उपराष्ट्रपतिमा एमाओवादी नेता पुन विजयी

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी हुनुभएको छ ।

व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज भएको मतदानमा पुनले ३२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गर्नुभएको हो । यसअघि निर्वाचन अधिकृत एवम् व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उपराष्ट्रपतिको मत परिणाम सभामुख घर्तीलाई बुझाउनुभएको थियो ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहनुभएका पुन सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रनुभएको थियो ।

पुनलाई संसद्मा रहेका नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायत १५ दलले समर्थन गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts