बनेपा, ११ कात्तिक । इन्धनको चरम अभावले काभ्रेपलाञ्चोकका पर्यटकियस्थल सुनसान भएका छन् ।
पर्यटकियस्थलमा नोभेम्वरबाट चाप बढने बेलामा जिल्लाको प्रसिद्ध नमोबुद्ध क्षेत्रमा २० प्रतिशत पनि पर्यटक आगमन नभएको नमोबुद्ध पर्यटन विकास उपभोक्ता समितिका सचिव कर्सङ्बज्र लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब २० दिनदेखि सो क्षेत्रमा ब्यापार, व्यवसाय ठप्प भएको छ । अधिकाँस होटल बन्द भएका छन् । केही होटल इन्धनको अभावमा दाउरा बालेर पनि सञ्चालन भएका छन् । तर पर्यटकको चाप नभएको लामाले बताउनुभयो ।
उहिले नमोबुद्ध क्षेत्रमा कम्तिमा १०० सवारी साधन पार्किङ अवस्थामा हुन्थे । तर अहिले एउटा वा दुइटा मात्रै सवारी साधन भएको उल्लेख गर्दै उहाँले पर्यटकको संख्या हवात्तै घटेको बताउनुभयो ।
स्थानीय राम लामाले इन्धनको चरम अभावले पर्यटन उद्योग धरासायी हुने अवस्थामा पुगेको जानकारी दिँदै झण्डै ८० प्रतिशत पर्यटक आगमनमा कमी भएको बताउनुभयो ।
“पर्यटकियस्थल नराम्रोसँग प्रभावित भएको छ, पर्यटक आगमन ठप्पजस्तै छ” उहाँले भन्नुभयो ।
उहाँका अनुसार आन्तरिक पर्यटक बाहेक भारत, चीन, थाइल्याण्ड, मलेसियालगायत युरोपका विभिन्न मुलुकबाट समेत पर्यटक नमोबुद्ध आउने गर्दथे ।
क्षेत्रीय होटेल सङ्गठन, धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले धुलिखेलका रिर्सोटमा पनि पर्यटक आगमन हवात्तै घटेको जानकारी दिँदै आर्थिक कारोवार ठप्प भएको बताउनुभयो ।
उहाँले चीन, थाइल्याण्ड, जर्मनीलगायतका मुलुकबाट आउने पर्यटक धुलिखेल नभित्रीएको उल्लेख गर्दै बैंकको क्रण बुझाउन र कामदारलाई तलब खुवाउनसमेत हम्मेहम्मे भएको बताउनुभयो ।
“यस्तै अवस्था रहे उद्योगधन्दा चौपट हुन्छ र आर्थिक कारोवार ठप्प हुन्छ” श्रेष्ठले भन्नुभयो । धुलिखेलमा मात्रै साना तथा ठूला गरेर करिब ३५ होटेल तथा रिर्सोट छन् ।
पर्यटनका लागि प्रमुख गन्तब्य मानिने नमोबुद्ध क्षेत्र बाहेक धुलिखेल, पनौती, काशिभन्ज्याङ, नगरकोट, दोलालघाट, पलाञ्चोक भगवति, नारायणस्थान, तिमाल, लाकुरी भन्ज्याङ, साँगा, कोटतिमाल, दुतिको पहिरो, दाप्चा क्षेत्रलगायतका पर्यटकिय क्षेत्र सुनसान रहेका छन् ।
जिल्ला विकास समितिका अनुसार काभ्रेपलाञ्चोकमा केही गाविसले ग्रामीण पर्यटन प्रर्वद्धनका लागि सञ्चालन गरेका होम स्टे पनि सुनसान भएका छन् । त्यस्ता होम स्टे पात्लेखेत, ढुङ्खर्क, बल्थली, कुशादेवी, धुलिखेल नगरपालिकामा रहेका छन् । रासस
No comments:
Post a Comment