Thursday, October 29, 2015

सङ्घीय र समावेशी शासन पद्धतिको ढोका खोलिएको छ – निवर्तमान राष्ट्रपति डा यादव

काठमाडौँ, १२ कात्तिक । निवर्तमान राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधानको कार्यान्वयनसँगै सङ्घीय र समावेशी शासन पद्धतिको ढोका खोलिएको बताउनुभएको छ ।

नयाँ राष्ट्रपतिको शपथसँगै आज शीतल निवासमा आयोजित निवर्तमान राष्ट्रपतिको बिदाइ समारोहमा उहाँले नयाँ संविधान जारी भएसँगै मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गर्नु भयो ।

“कुनै पनि संविधान पूर्ण दस्तावेज हुन सक्दैन, निरन्तरको अभ्यास, मन्थन र समय सापेक्ष संशोधनबाट नै संविधानले पूर्णता प्राप्त गर्ने हो” उहाँले भन्नुभयो, “नेपालको राजनीतिले भविष्यमा नयाँ संविधानले तय गरेको दायराभित्र नै आफ्नो बाटो पहिल्याउने छ भन्ने अपेक्षा राखेको छु ।”

नेपाली जनताले २००७ सालदेखि २०६२÷०६३ सम्मका आन्दोलनमार्फत अभिव्यक्त गरेका कैयौँ चाहना आज साकार भएका छन् भन्दै उहाँले आफ्नो सातवर्ष लामो कार्यकालका चुनौती र उपलब्धिको मूल्याङ्कन गर्ने जिम्मा विज्ञको काँधमा छोडेको बताउनुभयो ।

प्रमुख दलले १२ बुँदे सहमतिदेखि सङघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुँदासम्म कायम गरेको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् भन्ने कामना गर्दै उहाँले हरेक राष्ट्रिय आवश्यकता र राजनीतिक समस्याको समाधान राजनीतिक दलले संवैधानिक तथा शान्तिपूर्ण तरिकाबाट खोज्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज मेरो बिदाइसँगै देशको अन्तरिम शासन व्यवस्थाको एउटा चरण पूरा भएको छ । मुलुकका प्रमुख राजनीतिक र संवैधानिक मुद्दा धेरै हदसम्म सुल्झिसकेको पृष्ठभूमिमा अब सबैको ध्यान आर्थिक र सामाजिक विकासतर्फ केन्द्रित हुन सकोस् ।”

“नयाँ संविधानको निर्माण र कार्यान्वयन अवश्य पनि चुनौतीरहित छैन, तराई–मधेसको ठूलो भू–भाग लामो समयसम्म अशान्त र आन्दोलित रहँदा त्यहाँका बासिन्दा तथा मुलुकभरकै जीवन अत्यन्त कष्टकर भएको तथा भूकम्पबाट प्रभावित जनताको जीवनयापन दुरुह हुँदै गएको तथ्यप्रति गम्भीर भई विशेषतः राजनीतिक दल, व्यवस्थापिका–संसद् तथा सरकारले अविलम्ब यसतर्फ ध्यान दिने छन् भन्ने आशा गरेको छु”– उहाँले भन्नुभयो ।

निवर्तमान राष्ट्रपति डा यादवले आफू राष्ट्रपति बन्दा हिमाल, पहाड, तराई–मधेस जहाँ बसे पनि, जुन धर्म संस्कृति माने पनि नेपालको सीमाभित्र बस्ने सबै नेपाली हौैँ भन्दै आफू शीतल निवासमा प्रवेश गरेको र आज बिदा हुँदै गर्दा पनि त्यही कथन पुनः दोहा¥याउँदै हामी सबै नेपाली हौँ भन्ने भावना बोकेर अघि बढ्न आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts