Friday, October 30, 2015

कञ्चनपुरमा झन्डै ५५ हजार विद्यार्थीलाई छात्रवृत्ति

भीमदत्तनगर, १३ कात्तिक । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले झन्डै ५५ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गत आर्थिक वर्ष २०७१÷७२ मा शिक्षा कार्यालयले यहाँका सरकारी स्कूलमा अध्ययनरत दलित, कम्लहरी, अपाङ्ग तथा छात्रालाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको छ ।

जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी पदमराज भट्टले विभिन्न छात्रवृत्ति शीर्षकमा आएको रकमबाट यहाँका ५४ हजार ९७१ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष अपाङ्ग छात्रवृत्ति एक हजार ४४२ विद्यार्थीलाई प्रदान गरिएको छ जसमध्ये ९८ जना ‘क’ श्रेणीका अपाङ्गलाई स्रोतकक्षामा राखेर अध्ययन गराइएको उहाँले बताउनुभयो ।

“कक्षा १ देखि ८ सम्म एक हजार ४४२ अपाङ्ग विद्यार्थीलाई विद्यालयमार्फत छात्रवृत्ति रकम उपलब्ध गराएको हाँै”, सूचना अधिकारी भट्टले भन्नुभयो, “कक्षा ९ र १० मा १३१ जना अपाङ्ग विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।” अपाङ्ग छात्रवृत्तिमा रु ३६ लाख ८५ हजार खर्च भएको छ । “१ देखि ८ कक्षासम्मका लागि रु ३५ लाख ३२ हजार तथा ९ र १० कक्षाका लागि रु एक लाख ५३ हजार छात्रवृत्ति प्रदान गरियो”, भट्टले भन्नुभयो ।

त्यसैगरी, दलित छात्रवृत्तिअन्तर्गत कक्षा १ देखि ८ सम्मका १९ हजार ५७० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय जनाएको छ । दलित छात्रवृत्तिमा रु ६५ लाख ३६ हजार खर्च भएको थियो भने दलित छात्रवृत्ति कक्षा ९÷१० मा दुई हजार २२८ जनालाई पनि छात्रवृत्ति उपलब्ध गराइएको सूचना अधिकारी भट्टले बताउनुभयो ।

“दलितको कक्षा ९ र १० मा रु तीन लाख ३१ हजार खर्च भएको थियो”, उहाँले भन्नुभयो । त्यस्तै छात्रा छात्रवृत्तिबाट पनि यहाँका कक्षा १ देखि ८ सम्मका ३० हजार २१ जना विद्यार्थी लाभान्वित भएका छन् । शिक्षा कार्यालयले छात्रा छात्रवृत्तिमा रु एक करोड तीन लाख ८७ हजार खर्च गरेको सूचना अधिकारी भट्टले बताउनुभयो ।

शिक्षा कार्यालयको छात्रवृत्तिमा मुक्त कम्लहरीका ५६३ र द्वन्दपीडित ६८ जना विद्यार्थीले पनि छात्रवृत्ति पाएको शिक्षा कार्यालयको तथ्याङ्कले देखाएको छ । मुक्त कम्लहरी छात्रवृत्तिमा रु २४ लाख एक हजार र द्वन्दपीडितमा रु आठ लाख ४० हजार खर्च भएको शिक्षा कार्यालयले जनाएको छ । “मुक्त कम्लहरीका विद्यार्थी सबै कक्षामा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको हो ।” भट्टले भन्नुभयो, “द्वन्दपीडित विद्यार्थीमध्ये १८ वर्ष ननाघेकालाई छात्रवृत्ति दिइन्छ ।”

त्यसैगरी, यहाँका कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने माध्यमिक शिक्षा छात्रवृत्तिबाट समेत विद्यार्थीलाई सहयोग गरिएको छ जसमा रु १५ लाख ९८ हजार खर्च भइसकेको छ । “यो आर्थिक वर्षमा पनि गत वर्षकै शीर्षकमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध हुन्छ ।” सूचना अधिकारी भट्टले भन्नुभयो । कञ्चनपुरमा हाल २६१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । “द्वन्दपीडित छात्रवृत्ति निजी विद्यालयबाट पनि वितरण हुन्छ”, भट्टले भन्नुभयो, “अन्य सबै प्रकारका छात्रवृत्ति सरकारी स्कूलबाट मात्रै सरकारले वितरण गर्दै आएको छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts