काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा महत्व राख्ने अति प्राचीन अभिलेखीय ग्रन्थदेखि गणतन्त्र नेपालको नयाँ संविधानसम्मका सामग्री सङ्कलन गर्दै आएको राष्ट्रिय अभिलेखालय समयसापेक्ष अत्याधुनिक प्रविधिमार्फत सामग्रीको संरक्षणमा जुटेको छ ।
सन् १९६७ अक्टोबर ३ मा स्थापना भई विभिन्न आरोहअवरोह पार गर्दै आएको अभिलेखालयले अति प्राचीन ग्रन्थको संरक्षणका लागि माइक्रोफिल्मिङ कार्य सन् १९७० देखि सुरु गरी २००२ सम्म गरेकामा यसै वर्षदेखि अभिलेखीय सामग्रीको डिजिटलाइजेसन गर्न लागेको हो ।
माइक्रोफिल्मिङ शाखाका प्रमुख कुमार श्रेष्ठका अनुसार माइक्रोफिल्मिङसँगै अत्यन्त जोखिममा रहेका अभिलेखीय ग्रन्थ संरक्षण भए पनि तिनीहरूलाई वर्षौंसम्म सुरक्षित गर्ने लक्ष्यका साथ डिजिटलाइजेसन गर्न लागिएको छ ।
राष्ट्रिय अभिलेखालय आफैँमा राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएको बताउने अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले अक्टोबर ३ मा अभिलेखालय स्थापना भएको दिनलाई अभिलेखालय दिवसका रुपमा यसै वर्षदेखि मनाउन थालिएको बताउनुभयो ।
राष्ट्रिय अभिलेखालय दिवसको अवसर पारी आज पुरातत्व विभाग र तिनका मातहतका कार्यालयहरू, राष्ट्रिय अभिलेखालय परिसरमा सरसफाइ गरिएको छ ।
“देशमा छरिएर रहेका राष्ट्रिय महत्वका अभिलेख सङ्कलन, संरक्षण, संवद्र्धन गर्ने उद्देश्यका साथ सन् १९६७ अक्टोबर ३ मा राष्ट्रिय अभिलेखालय स्थापना भएकाले प्रत्येक वर्षको अक्टोबर ३ लाई अभिलेखालय दिवसका रुपमा मनाउने भइएको छ”, उहाँले भन्नुभयो ।
अभिलेखालयमा नवौँ शताब्दीको निश्वासतत्व संहिता युनेस्कोको मेमोरी अफ द वल्र्ड रजिस्टरमा ‘वल्र्ड हेरिटेज’का रुपमा सूचीकृत हुन सफल भएको अभिलेखालयले जनाएको छ ।
त्यसका साथै धर्म, आयुर्वेद, ज्योतिष, तन्त्र आदि विषयका ताडपत्र, भोजपत्र, नीलपत्र आदिमा लेखिएका हस्तलिखित ग्रन्थ र ताम्रपत्र पनि अभिलेखालयमा सङ्कलित रहेको प्रधानाङ्गले बताउनुभयो ।
अभिलेखालयमा विश्वकै सानो पुस्तकका साथै आठौँ शताब्दीको सद्धर्मपुण्डरिक, नवौँ शताब्दीको प्रारम्भको स्कन्दपुराण, सन् १३८० को जयस्थिति मल्लको पहिलो लिखत कानुनको रुपमा रहेको न्यायविकासिनी (मानवधर्म न्यायशास्त्र) जस्ता प्रसिद्ध हस्तलिखित धर्मग्रन्थ सुरक्षित रहेको अनुसन्धान अधिकृत राजु रिमाल बताउनुहुन्छ ।
ती सबै प्राचीन सामग्रीलाई डिजिटलाइजेसन प्रविधिमा सुरक्षित गर्ने अभिलेखालयको तयारी छ । ऐतिहासिक कागजातका रुपमा सरकारी कागजात सदन सवाल, लालमोहर, स्याहा मोहर, एकछापे, द्विछापे, सन्धि सम्झौता, गोरखापत्र, द राइजिङ नेपाल, निजामती कर्मचारीको रेकर्ड रहेको अभिलेखालयको माइक्रोफिल्मिङ शाखामा झन्डै दुई लाखको हाराहारीमा अभिलेख सङ्ग्रहित गरेको शाखाका प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अभिलेखालयमा २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको प्रमाणित पाँचप्रतिमध्ये एकप्रति सुरक्षित राखिएको छ । समयसापेक्ष रुपमा अभिलेखीय सामग्रीको संरक्षणका लागि गर्न लागिएको डिजिटलाइजेसनले दुर्लभ सामग्री वर्षौंसम्म सुरक्षित गर्न सकिने माइक्रोफिल्मिङ शाखाका अधिकृत राजेन्द्र न्यौपानेको धारणा छ ।
राष्ट्रिय अभिलेखालयको महत्व र गरिमालाई आत्मसात् गर्दै यसै वर्षदेखि राष्ट्रिय अभिलेखालय दिवस मनाउन थालिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो । देशको महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको अभिलेखालयलाई समयसापेक्ष विकास गर्दै अघि बढ्नुपर्ने निर्देशक दाहालको धारणा छ । रासस
No comments:
Post a Comment