धनगढी, २८ कात्तिक । राष्ट्रिय बीउबीजन कम्पनी लिको पहलमा कैलाली र कञ्चनपुर जिल्लामा गरिँदै आएको विभिन्न बालीको बीजवृद्धि कार्यक्रम विस्तार गरिएको छ ।
सरकारी स्वामित्वको बीउबीजन कम्पनीको यहाँंस्थित मुख्य शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रप्रसाद भट्टले बीजवृद्धिको प्रयोजनका लागि गहुँखेतीको क्षेत्रफल यस वर्ष कैलाली र कञ्चनपुर जिल्लामा दश प्रतिशतले वृद्धि भएको बताउनुभयो ।
धानको बीजवृद्धिका लागि गरिने क्षेत्रफल पनि वृद्धि भएको छ । ती दुवै जिल्लामा गरी यसअघिसम्म गहुँको झन्डै १२५ हेक्टर र धानको झन्डै १५० हेक्टर क्षेत्रफलको जग्गामा बीजवृद्धि कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
कम्पनीको पहलमा तोरी र मसुरो बालीको बीजवृद्धि कार्यक्रम सञ्चालन हुँदै आए पनि यी दुई बालीको क्षेत्रफल भने बढ्न नसकेको बताइएको छ । कार्यालयले बीजवृद्धि कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा कृषक समूह र सरकारी संस्थासँग सम्झौता गरी उनीहरुबाट उत्पादित गुणस्तरीय बीउ खरिद गर्दै आएको छ । खरिद भएको बीउको प्रशोधन र भण्डारण गरी कम्पनीले सरकारको नीति अनुरुप किसानलाई बिक्री वितरण गर्दै आएको छ ।
देशका अन्य कतिपय जिल्लामा उत्पादित बीउको तुलनामा कैलाली र कञ्चनपुरमा उत्पादित बीउ उच्च गुणस्तरको रहेको पाइएको कार्यालयले गरेको अध्ययनले देखाएको छ । “कैलाली जिल्लाको हसुलिया लगायतका क्षेत्रका साथै कञ्चनपुरको अधिकांश क्षेत्रमा गरिएको बीजवृद्धि कार्यक्रमबाट उत्पादित बीउ उच्च गुणस्तरको रहेको छ”, भट्टले भन्नुभयो“ यी जिल्लामा उत्पादित बीउको उर्वरा शक्ति ८५ प्रतिशतभन्दा माथि रहेको, बीउको प्रयोगले बालीको उत्पादकत्व पनि राम्रो रहेको र लामो समयसम्म पनि भण्डारन गर्न सकिने देखिएको छ ।”
यसैबीच कम्पनीले यस वर्ष कृषकलाई गहुँखेती गर्न ३५ प्रतिशत अनुदानमा गहुँको बीउ बिक्रीवितरण गरिरहेको छ । रासस
–––––
No comments:
Post a Comment