काठमाडौँ, १८ कात्तिक । बजारमा औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
लामो समयदेखि इन्धन अभाव भई देशका विभिन्न भागमा औषधिको अभाव देखिन थालेको पृष्ठभूमिमा कार्यदल गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कार्यदलका संयोजक बालकृष्ण खकुरेलले औषधिको सहज आपूर्तिका लागि काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
बजारमा हल्ला भएको जस्तो औषधि अभाव नभएको तर औषधिको वितरण र ढुवानीमा समस्या भएको उहाँको भनाइ थियो ।
“स्वदेशमै धेरैखाले औषधिको उत्पादन हुन्छ तर इन्धन अभावका कारण देशका विभिन्न भागका उत्पादित औषधि पु¥याउन कठिनाइ भइरहेकाले त्यसको सहज वितरणका लागि कार्यदलले अध्ययन गरिरहेको छ ”– संयोजक खकुरेलले भन्नुभयो ।
बाहिरबाट आउने औषधिको सहज आपूर्तिका लागि पनि हवाई मार्गबाट ल्याउने विषयमा कुरा अगाडि बढाइसकेको कार्यदलले जनाएको छ ।
औषधिको आन्तरिक वितरणमा सुरक्षाका कारण पनि समस्या आएको भएपनि अस्पतालहरुमा अभाव हुन नदिन प्रयास भइरहेको उहाँले बताउनुभयो ।
उहाँले सर्वसाधारणलाई हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment