काठमाडौँ, १७ कात्तिक । व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा नेताहरुले समसामयीक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।
सभापति सुशील कोइरालाको अध्यक्षतामा यही कात्तिक १५ गतेदेखि जारी बैठकमा काँग्रेसको आसन्न १३ औँ महाधिवेशन, नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा काँग्रेसले दिएको उम्मेदवारी, मधेस आन्दोलनलगायतका विषयमा छलफल जारी रहेको सो पार्टीले जनाएको छ ।
आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँणले काँग्रेसले बिनातयारी प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएको बताउँदै नयाँ संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको सहकार्य आवश्यक रहेकोमा जोड दिएको जानकारी दिनुभयो । उहाँले बैठकमा सभापति सुशील कोइरालाले संविधान जारी भएपछि एक मिनेट पनि सरकारमा नबस्ने आफ्नै प्रतिबद्धताविपरीत उम्मेदवारी दिएको आरोप लगाउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले काँग्रेसले प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएर लोकतन्त्रलाई सुदृढ बनाउने काम गरेको धारणा राखेको जानकारी दिनुभयो । विश्वमा कँही पनि संसदको सबैभन्दा ठूलो दल दोस्रो ठूलो दलको नेतृत्वमा सत्तामा गएको उदाहरण नभएको तर्क गर्दै उहाँले बहुदलीय प्रजातन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भएको बताउनुभयो ।
केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संविधान जारी भएपछि काँग्रेसले लिएको निर्णयका बारेमा आवश्यक छलफल र तयारी नभएकाले कमजोरी भएको तर्क गर्दै यतिखेर जनताको चाहनाअनुरुप प्रमुख दलहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखेको बताउनुभयो ।
केन्द्रीय आमन्त्रित सदस्य महेन्द्र शर्माले तराई–मधेसको आन्दोलनलाई गम्भीररुपमा लिएर सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेको जानकारी दिनुभयो । उहाँले सभापति कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर मुलुकको राष्ट्रिय अखण्डता र राष्ट्रिय एकता बलियो भएको तर्क गर्नुुभयो ।
आजको बैठकमा अन्य केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, प्रवक्ता दिलेन्द्रप्रसाद बडू, डा. शेखर कोइराला, सूर्यमान गुरुङ, केशवकुमार बुढाथोकी, केन्द्रीय आमन्त्रित सदस्य कल्याणकुमार गुरुङ र कवेलबहादुर लामाले मुलुकको पछिल्लो समसामयीक राजनीतिक घटनाका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडाँैमा हुने काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न तयारी समिति गठन गरिनुका साथै संयोजकसमेत तोकिसकेको छ । बैठक भोलि बुधबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment