काठमाडौँ, ११ मङ्सिर । जापान सरकार नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई बदलिँदो परिवेशमा नयाँ उचाइमा उठाउन तयार रहेको जनाएको छ ।
सभामुख ओनसरी घर्तीसँग नेपालका लागि राजदूत मासाही ओगावाले आज संसद् सचिवालयमा गर्नुभएको भेटवार्ताका क्रममा सो कुराको जानकारी गराउनुभएको हो ।
दुई देशबीच आगामी दिनमा अझ सुमधुर र सहयोगात्मक सम्बन्ध रहने विश्वास व्यक्त गर्दै राजदूत ओगावाले नेपाल र जापानबीचको संसद्को सम्बन्धलाई अझ परिस्कृत बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
पहिलो महिला सभामुखको रुपमा गरिमामय पदमा निर्वाचित हुनुभएकामा बधाई र शुभकामना दिँदै राजदूत ओगावाले नेपालले अधिकतम सहमतिमा जारी गरेको संविधानको स्वागत गर्नुभएको सभामुख घर्तीका निजी सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो ।
उहाँले भूकम्पका कारण नेपाली जनतामा परेको पीरमर्कामा मल्हमपट्टी लगाउन र भूकम्पपीडितलाई पुनःनिर्माणमा सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सभामुखले नेपाल र जापानबीच मैत्रीपूर्ण एवम् प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै भूकम्पका कारण नेपालमा भएको अतुलनीय क्षतिमा जापानले उपलब्ध गराएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
नेपालको समग्र विकासका लागि जापानी प्रविधिलाई उपयोग गर्नसके फलदायी हुने विचार राख्दै राजदूत ओगावाले जापान र नेपालको संसद्बीचको मित्रतालाई सभामुखको कार्यकालमा अझ प्रगाढ बनाउने विचार व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment