मेलम्ची, १५ कात्तिक । नेपालीको महान् चाड तिहार नजिकिँदै गर्दा चाडबाडको समयमा हुन सक्ने घटनालाई मध्यनजर राख्दै इलाका प्रहरी कार्यालय मेलम्चीले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ ।
चाडबाडको समयमा हुनसक्ने चोरी, डकैती र चाडबाडको समयमा अत्यधिक मादकपदार्थ सेवन गर्ने व्यक्तिबाट घट्न सक्ने अप्रत्यासित घटनालाई मध्यनजर राखी इलाका प्रहरी कार्यालय मेलम्चीले थप गस्ती खटाएको र सुरक्षा व्यवस्थामा थप कडाइ गरेको प्रहरी निरीक्षक चन्द्र थापाले बताउनुभयो ।
तिहारलाई आधार मानी सरकारद्वारा बन्देज लगाइएका विभिन्न किसिमका पटका, भुइँचम्पाजस्ता सामग्री भित्रन नदिन प्रहरीले गर्दै आएको जाँचमा पनि थप कडाइ गरेको छ ।
अन्य बेलाको तुलनामा भन्दा चाडबाडको समयमा यात्रुको चाप निकै बढी हुनेहुँदा यस्तो समयमा बसभित्र हुनसक्ने चोरी डकैती आदि घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनका लागि प्रत्येक गाडीमा चालक र सहचालकलाई प्रशिक्षणसमेत दिएको निरीक्षक थापाको भनाइ छ ।
चाडबाडको समयमा आफू सुरक्षित साथ हिँड्न र कुनै अप्रिय घटना हुँदा वा खराब नियतका व्यक्तिमाथि आफूलाई शङ्का लागेमा वा कुनै अप्ठ्यारो परिस्थिति आउनासाथ तत्काल प्रहरीलाई खबर गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले अपिल गरेको छ । रासस
No comments:
Post a Comment