काठमाडौँ, ८ मङ्सिर । नेपालको बजेट निर्माण प्रक्रिया पारदर्शिताको सवालमा उत्कृष्ट रहेको सरकारी अधिकारीले बताएका छन् ।
फ्रिडम फोरमले आज आयोजना गरेको ‘नेपालमा बजेट पारदर्शिता’ विषयक अन्तरक्रियामा उहाँहरुले अमेरिका, बेलायत, युरोपेली देशमा भन्दा यहाँ सूचना पाउन सजिलो र सरल व्यवस्था रहेको बताउनुभयो ।
अर्थ मन्त्रालय, बजेटतर्जुमा महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बजेटमा सर्वसाधारणको सहभागिताको सवालमा गैरसरकारी संस्थाले उठाएको कुरामा केही कमीकमजोरी भएपनि शुन्य भने नभएको बताउनुभयो ।
सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापाले नेपालमा दीर्घकालीन राष्ट्रिय नीति स्पष्टरुपमा नभएपनि पारदर्शिताको सवालमा भारत, बङ्गलादेश, पाकिस्तानभन्दा कुनै कमी नभएको चर्चा गर्नुभयो ।
उहाँले नेपालले बजेट निर्माण गर्दा विश्वव्यापी प्रचलनअनुसारको अभ्यासलाई अवलम्बन गर्दै आएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीले सरकारले बजेट निर्माण गर्दा सुधारका क्रमलाई जारी राखेको र भविष्यमा पनि जनसहभागिता बढाउन सुधारका कार्यक्रमलाई जारी राख्ने बताउनुभयो ।
फोरमका अध्यक्ष तारानाथ दाहालले नेपालको बजेट निर्माण प्रक्रियामा सार्वजनिक चासो अभिवृद्धि गर्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष भरतबहादुर थापा, संसद् सचिवालयका उपसचिव मनोजकुमार गिरीलगायतका वक्ताले नेपालमा ओपन बजेट सर्भेका विविधपक्षमा मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा ओपन बजेट सर्भेका व्यवस्थापक इलेना मोन्डो, पत्रकार कृष्ण सापकोटा र अनिरुद्र न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा बजेट निर्माणपूर्व सार्वजनिक सहभागिता बढाउन पूर्वबजेट प्रकाशित गर्नुपर्ने, अधिकांश मुलुकले बजेटमा आफ्नो धारणा राख्न जनतालाई पर्याप्त अवसर नदिएको, विश्वका ८२ राष्ट्रले यस्तो अवसर जनतालाई नदिएको, सातवटा मुलुकले मात्र पर्याप्त अवसर दिएको उल्लेख छ । रासस
No comments:
Post a Comment