काठमाडौँ, ८ मङ्सिर । अर्थ मन्त्रालयले आज जारी श्वेतपत्रमा तराई मधेसमा जारी बन्द हड्तालका कारण ३४ लाख ७६ हजार बालबालिका गम्भीररुपमा प्रभावित भएको जनाएको छ ।
‘देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशा’ श्वेतपत्रमा तराई मधेसका २० जिल्लामा शैक्षिक गतिविधि अवरुद्ध भएको र आपूर्ति प्रणालीमा आएको अवरोधका कारण बाल विकास केन्द्रमा रहेका ११ लाख बालबालिका, कक्षा १ देखि कक्षा १२ सम्मका ७५ लाख ४२ हजार विद्यार्थी र उच्च शिक्षाका छ लाख ५२ हजार विद्यार्थी प्रभावित भएको उल्लेख छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको सो श्वेतपत्रमा यातायतको असुविधका कारण काठमाडौँ उपत्यकाका संस्थागत र सामुदायिक विद्यालय पनि प्रभावित भएको जनाइएको छ ।
यस्तै आगामी शैक्षिक सत्रमा ७२ लाख विद्यार्थीलाई निःशुल्क प्रदान गरिने पाठ्यपुस्तक छपाइमा प्रभाव पारी समयमा पुृस्तक उपलब्ध नहुने अवस्था आएको, विद्यालय क्षेत्र सुधार कार्यक्रमका उद्देश्य र लक्ष्य हासिल गर्ने कार्यमा अवरोध आउने, शैक्षिक उपलब्धि गुम्ने खतरा रहेको सरकारले जनाएको छ ।
तराई मधेसको आन्दोलनका कारण कतिपय स्वास्थ्य संस्था बन्द भएको, सेवा प्रवाह हुन नसकेको, सुत्केरी, नवजात शिशु, बालबालिका तथा वृद्धवृद्धालाई स्वास्थ्य संस्थासम्म जान असुविधा भएको सरकारको विवरणमा उल्लेख छ ।
बजारमा अत्यावश्यक र जीवनदायिनी औषधि तथा रगतको अभाव हुन थालेको, मानव अङ्ग प्रत्यारोपणजस्ता सेवा कटौती गर्नुपरेको, बालबालिकाको आधारभूत खोप सेवा प्रभावित हुन थालेको र पोषणसम्बन्धी सेवामा असर पर्न गई गम्भीर मानवीय सङ्कट आउने र स्वास्थ्य क्षेत्रमा हालसम्मका प्रगति गुम्ने खतरा श्वेतपत्रमा औल्याइएको छ ।
श्वेतपत्रमा खानेपानी ढुवानी सेवा, फोहरमैला सङ्कलन र बिसर्जनसमेत प्रभावित हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर परी महामारी फैलनसक्ने सम्भावना देखाइएको छ । रासस
No comments:
Post a Comment