काठमाडौँ, ८ मङ्सिर । राष्ट्रिय जनमोर्चाले उदयपुरका तीन महिने शिशुलाई उपचारको क्रममा एम्बुलन्समार्फत विराटनगरको अस्पतालमा लैजाँदा बाटोमा मधेस केन्द्रित आन्दोलनकारीले अवरोध गरेको कारण अस्पतालमा पुग्न नपाएर बाटोमै मृत्यु भएको घटनाप्रति पार्टीको ध्यान आकर्षित भएको जनाएको छ ।
सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै बिरामी बोकेका एम्बुलेन्समा तोडफोड गर्ने वा औषधि बोकेका ट्रकमा आगलागी गर्ने जस्ता कार्य गैर राजनीतिक र अमानवीय घटना भएको बताउँदै मधेसको आन्दोलन अराजकताको दिशातर्फ गइरहेको जनाउनुभएको छ ।
विज्ञप्तिमा त्यस प्रकारका घटना घट्न नदिन उच्च प्रकारको सतर्कता अपनाउन र दोषीमाथि कडा कारबाही गर्नका लागि सरकारसँग माग गर्दै आन्दोलनका आयोजकसँग पनि त्यस प्रकारका घटना दोहोरिन नदिन अनुरोध गरिएको छ ।
यस्तै रूपन्देहीको सूर्यपुरामा एउटी सात वर्षीया दलित बालिका आफ्नो घरमा टिभी हेर्न आएको भनेर एकजना युवकले हत्या गरेको समाचारप्रति पनि पार्टीको ध्यान आकर्षित भएको उल्लेख छ ।
समाजमा विद्यमान छुवाछूतको भावना र युवकमा बढ्दै गएको विकृतिमा सुधारका लागि पनि समुचित ध्यान दिनुपर्ने आवश्यकतामा पार्टीले विशेष जोड दिएको छ । रासस
No comments:
Post a Comment