भक्तपुर, १६ कात्तिक । एकीकृत (माओवादी) का प्रवक्ता दीनानाथ शर्माले नेपाली काँग्रेसकै शीर्ष तहका नेताहरुका कारण काँग्रेसले राष्ट्रपतिको पद गुमाएको बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा शर्माले काँग्रेसका शीर्ष नेतृत्वले राजनीतिक सहमति स्वीकार्न नसक्दा राष्ट्रिय सहमतिको अन्त्यसँगै काँग्रेसले राष्ट्रपतिको पद गुमाएको बताउनुभयो ।
शर्माले भारतले लगाएको अघोषित नाकाबन्दीले भारत असल छिमेकी नभएको नयाँ पुस्ताले जानकारी पाएको बताउनुभयो । उहाँले विगतमा भारतको नाकाबन्दी झेलेका पुस्ताले भारत नेपाललाई जतिबेला पनि दुःख दिने छिमेकी भएको जानकार भए तापनि २०४६ सालपछिको पुस्ताले भारत असल छिमेकी नभएको जानकारी पाउन सकेको थिएन र यो नाकाबन्दीले भारत कुटिल छिमेकीसमेत भएको नयाँ पुस्ताले जानकारी पाएको बताउनुभयो ।
नाकाबन्दीले नेपालीको जनजीवन अस्तव्यस्त बने तापनि यो नाकाबन्दीले अन्य देशसँग सहकार्य गरी अन्तरसम्बन्ध वृद्धि गर्ने र आयातनिर्यातको नयाँ बाटो खुलेको उहाँले कथन थियो ।
उहाँले भन्नुभयो, “इन्धनको समस्या समाधानको वैकल्पिक उपायको खोजीमा चीनले अनुदानको इन्धन उपलब्ध गराए तापनि न्यूनतम तीन वर्षका लागि अर्को सहमति हुने र यसले इन्धनको अभावमा सहजता आउनेछ ।” चीनतर्फका सम्भव भएका सबै नाका खोल्न सरकार लागे यसले अझै आयातनिर्यातमा सहजता आउने बताउँदै प्रवक्ता शर्माले नेपालले भारतसँगको सम्बन्धलाई सुधार गर्दै पैसा तिरेर सामान खरिद गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
तराई अन्दोलनका जायज माग पूरा गर्नुपर्नेमा एमाओवादी पहिलेदेखि नै उभिएको र संविधान संशोधन गर्दैै थारू र तराईका जायज मागको सम्बोधन गरिने उहाँको टिप्पणी थियो । शर्माले हाल सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो पार्टीले जारी गरेको आचारसंहिताको पालना नगरे जतिखेर पनि मन्त्रीबाट फिर्ता बोलाउन सकिने बताउनुभयो ।
नेपालमा कम्युनिस्टहरुको एकताको विषय उठान तत्कालै सम्भव नभएको र कुनै छलफल नभएको बताउँदै शर्माले कालान्तरमा एकता हुने सम्भावनालाई अस्वीकार गर्न नसकिने धारणा राख्नुभएको थियो । रासस
No comments:
Post a Comment