भक्तपुर, १० मङ्सिर । इन्धन अभावका कारण देखाउँदै सरकारी कार्यालयमा कर्मचारी आउन छाडेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको आकस्मिक अनुगमनमा ७५ जना कर्मचारी छड्केमा परेका छन् ।
सेवाग्राहीको बढी चाप हुने भक्तपुरका आठवटा कार्यालयमा आज गरेको अनुगमनमा ७५ जना कर्मचारी छड्केमा परेको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
अनुगमनमा मालपोत कार्यालयका छ अधिकृत, १३ सहायक कर्मचारी, नापी कार्यालयका दुई अधिकृत, २२ सहायक कर्मचारी, जिल्ला शिक्षा कार्यालयका सात अधिकृत, चार सहायक कर्मचारी, जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकृत, दुई जना सहायक कर्मचारी, पशु सेवा कार्यालयका एक कर्मचारी, दुई सहायक कर्मचारी, भूमिसुधार कार्यालयका चार जना अधिकृत, छ जना सहायकस्तरका कर्मचारी गरी २४ जना अधिकृत र ५१ जना सहायकस्तरका कर्मचारी छड्केमा परेका हुन् ।
प्रशासनले सहायक प्रजिअ जोशी र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्र थापा र चुडाराज भट्टराईको नेतृत्वमा तीनवटा समूह बनाएर कार्यालयको छड्के गरिएको थियो ।
छड्के पर्ने कार्यालय प्रमुखमा मालपोत कार्यालयका मुक्तिप्रसाद आचार्य, भूमि सुधार कार्यालयका चन्द्रमणि अर्याल र नापी कार्यालयका सुदर्शन धामीसमेत परेका छन् ।
छड्केमा परेका कर्मचारीलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जवाफअनुसार विभागीय कारबाही अगाडि बढाउने जानकारी दिँदै जोशीले जिल्लाका सबै सरकारी कार्यालयमा छड्के गरिने बताउनुभयो । रासस
No comments:
Post a Comment