काठमाडौँ, १० मङ्सिर । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले ‘बाँच्न र पढ्न देउ’ भन्ने नाराका साथ विभिन्न शैक्षिक संस्थाको आयोजनामा विद्यार्थीसहित शुक्रबार चक्रपथमा हुने मानवसाङ्लोमा मानवअधिकारको ख्याल गर्न आग्रह गरेको छ ।
नेपाल बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्र भएको हैसियतमा समेत बालअधिकारको सम्मान र संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको अवस्थालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बालबालिकाको प्रयोग नगरिकनै वयस्कको सहभागिताबाट नै पूर्णता दिन सकिने ती निकायको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्ले, समितिका कार्यकारी अध्यक्ष तारक धिताल र बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष कृष्ण सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा बालबालिकाले आफूलाई परेका मर्काबारे आफ्ना विचार र भावना व्यक्त गर्न पाउनुपर्ने तर बालबालिकाको सुरक्षा, संरक्षण विकासलगायतमा असर नपर्ने गरी बालसुलभ वातावरण हुनु आवश्यक रहेको उल्लेख छ ।
विज्ञप्तिमा बालबालिकालाई कुनै प्रकारको जोखिम नहुने गरी र बालमैत्री ढङ्गले सिर्जनात्मक रुपमा बालबालिकाद्वारा अभिव्यक्त भावनालाई सम्बन्धित पक्ष, निकाय समक्ष पु¥याउन वयस्कहरुले सहजीकरण गर्नु बालअधिकारप्रतिको सम्मान हो भनिएको छ ।
आयोजकमध्येको प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले आफूहरुले कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई स्वतःस्फूर्तरुपमा आउन भनेको बताउनुभयो ।
प्याब्सन, एनप्याब्सन, नेपाल शिक्षक महासङ्घ, संयुक्त विद्यार्थी सङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घ, एन इष्टु र हिसानलगायतका अपिन सम्बद्ध संस्थाले संयुक्तरुपमा कक्षा ८ माथिका विद्यार्थीलाई मानवसाङ्लो निर्माणका लागि आह्वान गरेका छन् । रासस
No comments:
Post a Comment