Monday, November 23, 2015

संविधानले कसैप्रति पनि भेदभाव गरेको छैन : प्रम ओली

काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट जारी नेपालको संविधानले कसैलाई पनि भेदभाव नगरेको बताउनुभएको छ ।

गैरसरकारी संस्था महासङ्घ नेपालको आठौँ महाधिवेशन, २१औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधानले कसैलाई पनि भेदभाव गरेकै छैन ।” केहीले संविधान मधेस विरोधी भनेर हल्ला फैलाएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानप्रति नकारात्मक प्रचार गरिएको छ, त्यो गलत छ, यो संविधानले सबैको सम्मान गरेको छ ।”

संविधानको गलत व्याख्या गरेर जात र भूगोलका नाममा कलह फैलाउन र सम्प्रदायिक विद्वेष फैलाएर जनताबीचमा फाटो ल्याउन खोजिएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । बिरामीसहितको एम्बुलेन्समा आगो लगाउने र औषधि बोकेको ट्रकमा आगजनी गर्ने जस्ता क्रियाकलापले देशलाई सही बाटोमा नलग्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही मानिसका कारण तराई बर्बादीको बाटोमा गएको छ, त्यसलाई सही बाटोमा ल्याउनुपर्छ ।”

वार्ताबाटै वर्तमान समस्याको समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

जनतालाई भोकै राखेर, अस्पताल बन्द गर्नु र शिक्षण संस्था बन्द गरेर आम जनतालाई दःुख नदिन आन्दोलनरत पक्षसँग आग्रह गर्दै उहाँले भन्नुभयो, “म जस्तोसुकै दुःख भोग्न तयार छु तर जनतालाई सास्ती नदिनुहोस् । देशलाई भिडन्तको बाटो जान नदिऔँ ।” प्रधानमन्त्री ओलीले नेपालीले आफ्नो देशको समस्या आफैँ समाधान गर्न सक्ने भएकाले त्यस विषयमा सघाउन छिमेकी मुलुकलाई आग्रह गर्नुभयो । उहाँले आन्दोलन र नाकाबन्दीका कारण ११ खर्ब रुपैयाँभन्दा बढी क्षति भएको र त्योभन्दा बढी जनताको बाँच्न पाउने अधिकार नै कुण्ठित हुँदै गएकाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

इन्धनप्रतिको परनिर्भरतालाई घटाउन विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइने उहाँको भनाइ थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts