लुम्बिनी (रुपन्देही), १ मङ्सिर । बुटवलमा दिन प्रतिदिन जथाभावी रुपमा रिक्सा थपिँदै गएका छन् ।
आवश्यकता भन्दा बढी रिक्सा सञ्चालनमा आउँदा बजार क्षेत्र अस्तव्यस्त बन्न थालेको छ । जथाभावी रुपमा ई–रिक्सा सञ्चालनमा आएपछि बजार क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । नाकाबन्दीले इन्धन अभाव भइरहेको अवस्थामा त्यसको फाइदा उठाउदै कानुनी प्रक्रियाविना धमाधम ई–रिक्सा सञ्चालनमा आएका हुन् ।
यस्ता ई–रिक्साले मनोमानी रुपमा भाडा उठाउने गरेको यात्रुको गुनासो छ । रिक्सा व्यवसायी सङ्घ बुटवलका अध्यक्ष कृष्णप्रसाद तिवारीले यातायात व्यवस्था कार्यालयमा ई–रिक्सा दर्ता नभए पनि अन्य अञ्चलका कार्यालयमा दर्ता गरी बुटवलमा जथाभावी ई–रिक्सा भित्र्याउँदा बजार क्षेत्र अस्तव्यस्त हुनुका साथै दुर्घटना समेत बढाएको बताउनुभयो ।
दुईवर्ष अगाडि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा विद्युतीय रिक्सा दुर्घटना हुँदा चार जनाको ज्यान गएपछि यस क्षेत्रमा ई–रिक्सा सञ्चालन भएका थिएनन् । तिवारीले बिना लाइसेन्सका ई–रिक्सा चलाउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
अहिले बुटवलमा पुराना रिक्सा एक हजार ९३४ सञ्चालनमा छन् । सङ्घले हाल ७५ वटा पुराना रिक्सा विस्थापित गरी १५ वटा ई–रिक्सा सञ्चालनमा ल्याएको जनाएको छ । बुटवल उप–महानगर क्षेत्रका लागि २०० ई–रिक्सा आवश्यक रहेको बताइएको छ । बुटवललाई सफा, हराभरा र स्वच्छ सहर बनाउने उद्देश्यले ई–रिक्सा सञ्चालन गर्ने अवधारणा ल्याइएको थियो ।
लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी सङ्घका महासचिव प्रेम थापामगरका अनुसार अहिले ई–रिक्सा सङ्घमा १०० भन्दी बढी दर्ता भइसकेका छन् ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेले कानुनी प्रक्रिया भन्दा बाहिर रहेर सञ्चालन हुँदै आएका ई–रिक्सा चलानउना रोक लगाउने बताउनुभयो । रासस
––––––––
No comments:
Post a Comment