काठमाडौँ, २३ कात्तिक । नेपाल औषधि व्यवसायी सङ्घले करिब तीन महिनादेखि तराई÷मधेसमा जारी आन्दोलन र डेढ महिनादेखिको अघोषित नाकाबन्दीले देशभर अत्यावश्यकीय औषधि अभाव देखिएको बताएको छ ।
अहिलेकै अवस्था कायम रहे अबका केही दिनभित्रै औषधिको चरम अभाव हुने सम्भावना रहेको सङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “विश्व स्वास्थ्य सङ्गठन समेतले औषधिलाई अति आवश्यकीय वस्तुमा राखेको सर्वविदितै छ । औषधिको चरम अभाव सिर्जना हुँदासमेत सरोकारवालाको चासो पर्याप्त मात्रामा देखिएको छैन । व्यवसायीमात्रैको एकल प्रयासले औषधि आपूर्ति, वितरण र उपलब्धता प्रभावकारी बनाउन कठिनाइ भएको छ । मानव जीवनसँग प्रत्यक्ष जोडिएको औषधिजस्तो अत्यावश्यक एवम् संवेदनशील वस्तुको अभावमा बिरामी र घाइतेको जीवनमाथि खेलवाड गर्न कदापी मिल्दैन ।”
सरकारले औषधि वितरणका लागि बिक्रेतालाई इन्धन उपलब्ध नगराउँदा भण्डारण गरिएका औषधि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको सङ्घको गुनासो छ ।
“जनताको जीवनरक्षक औषधिसमेत कम हुँदै गएको अवस्थामा सरकार र आन्दोलनरत पक्षले आपूर्ति सहज बनाउन तथा मौज्दात ढुवानीको वातावरण बनाउन र आपूर्तिका अन्य विकल्पमा तत्कालै ठोस योजना बनाउने अग्रसरता लिन आग्रह गर्दछौँ,” सङ्घले भनेको छ ।
साथै, अहिलेको असहज अवस्थामा वार्ताबाटै ठोस तथा दीर्घकालीन निकास निकाल्न पनि सरकार र आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । रासस
No comments:
Post a Comment