काठमाडौँ, २३ कात्तिक । वर्तमानमा नसोचिकनै खिचिएका तस्बिर कहिलेकाहीँ भविष्यका अमूल्य निधि बनिदिन्छ ।
सन् १९७० को दशक र यसपछि खिचिएका तस्बिरले अहिले इतिहास बनेर पाटन क्षेत्रका गल्लीको शोभा बढाइरहेका छन् ।
नेपाली तथा विदेशी फोटोग्राफरले खिचेका केही तस्बिर गत कात्तिक १७ गतेदेखि पाटन सङ्ग्रहालय, नेवाः च्छे, च्यासल, पाटन क्षेत्रका अन्य ग्यालरी, नागबहाल, यलमाया केन्द्र र चोकचोकमा खुल्ला रुपमा प्रदर्शनी गरिएका थिए ।
फोटोसर्कल नेपालको आयोजनामा भएको प्रथम अन्तर्राष्ट्रिय प्रदर्शनी आज सम्पन्न भएको छ ।
खुल्ला रुपमा आवतजावत गर्ने जोसुकै पनि सहजै उक्त तस्बिरका दर्शक बन्न सक्छन् । महोत्सवका प्रेस संयोजक प्रणय राणाले भन्नुभयो–“फोटोको प्राचीनताको महत्व दर्शकलाई बुझाउनु महोत्सवको मुख्य उद्देश्य हो ।”
भूकम्पपछिको नेपाली जनजीवनलाई केहीमात्रामा भए पनि मलम लगाउन यी तस्बिरले मद्दत गर्ने उहाँको विश्वास छ । ‘प्रयोगको युग’ शीर्षक दिइएको तस्बिरमा तत्कालीन ७०÷८० को दशकको परिवेशमा मानिसले गर्ने फेसन, जीवनशैली नियाल्न खोजिएको छ ।
‘ब्ल्याक एन्ड ह्वाइट’ प्रविधिमा खिचिएका तस्बिरमा कसैले डोको बोकेर, कसैले हेल्मेट लगाएर त कोही साइकल चढेर फोटो खिचाएका छन् । निकै पुराना भएर पनि होला खुइलिएका र आकृति धमिलो हुँदै गएका छन् । तर पनि तस्बिरको आकर्षणमा कुनै प्रकारको कमी आएको छैन, यसको महत्वलाई देखाउन सफल छ । मार्शल आर्टका विश्वविख्यात चिनियाँ नायक ब्रुस्लीका ‘फ्यान’ले उनी जस्तै लामो कपाल पालेर उनकै एक्सनमा शरीरको माथिल्लो भागलाई खुल्लै राखेर खिचेको तस्बिर हेर्दा निकै रमाइलो लाग्छ ।
यसले कलाकारको क्रेज र फ्यान हुनुको मोह झल्काएको छ । जुन अहिलेको परिवेशमा पनि उत्तिकै चर्चित छ तर मात्र शैलीमा फरकपना आएको छ । महिलाले गुन्योचोलीमा डोको बोकेर खिचेको तस्बिरले तत्कालीन समयका नारी जनजीवनको यथार्थ झल्काएको छ ।
त्यस्तै प्रदर्शनीमा फिनिस फोटोग्राफर टुओमो मन्निन्ले सन् १९९० को दशकमा खिचेको नेपाली व्यावसायिक सामूहिक फोटो, अस्ट्रेलियन फोटोग्राफर फिलिप बलेन्किन्सोपको नेपाली राजनीतिको अस्थिरताबारे अभिलेखसमेत प्रदर्शनीमा राखिएका छन् ।
नेपाली फोटोग्राफर विकास रौनियारले १९९० को दशकमा खिचेका महत्वपूर्ण घटनाका तस्बिर, किशोर शर्माले खिचेको राउटेहरूको अभिलेखात्मक तस्बिर, सुरेन्द्र लावतीको दिवङ्गत पिताको सम्झनामा राखिएका तस्बिरले समाज, इतिहास र सम्पदाको महिमा झल्काएका छन् ।
विभिन्न समयमा खिचिएका व्यक्तिगत तस्बिरले समेत दर्शकको प्रशंसा पाएका छन् । तस्बिर खिचेमा पनि बाहिर नल्याएका र विदेशमा पुगेका तस्बिरलाई समेत नेपालमा मगाएर उक्त प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । रासस
No comments:
Post a Comment