बुटवल, ५ मङ्सिर । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले नेपालले छिमेकीसित समानताका आधारमा सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभएको छ ।
उहाँले अहिलेसम्मको सम्बन्ध जेजस्तो आधारमा भएपनि अब समानताको र अन्तरनिर्भरताको सम्बन्ध जरुरी रहेको बताउनुभएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन पश्चिमाञ्चलको आयोजनामा आज बुटवलमा भएको ‘राष्ट्रियता र स्वाधीनता’ विषयक अन्तक्र्रियामा बोल्दै नेता ज्ञवालीले वर्तमान सङ्कट समाधानका लागि सरकार गम्भीर भएको र छिट्टै राहत प्याकेजसहितको कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभयो ।
उहाँले नेपाल भारतसितमात्रै परनिर्भर भएको र त्यसैका कारण अहिले नाकाबन्दीको सामना गर्नुपरेको जनगुनासो आइरहेका बेला नेपालले भारतसहित छिमेकका अरु मुलुकसित पनि विविधिकरणसहितको व्यापारिक साझेदारीको पहल सुरु गरेको बताउनुभयो ।
तराई मधेसको जारी आन्दोलन र विद्यमान सङ्कट समाधानका लागि सरकारले के गरिरहेको छ भन्ने कार्यक्रममा सहभागी प्राध्यापक, बुद्धिजीवी तथा नागरिक अगुवाका जिज्ञासाको जवाफ दिँदै नेता ज्ञवालीले मधेसको राजनीतिक समस्या समाधानका लागि राजनीतिक दल र सरकार गम्भीर ढङ्गले प्रस्तुत भएको र वार्ताका लागि फेरि तयारी गरिरहेको बताउनुभयो । रासस
No comments:
Post a Comment