Sunday, November 15, 2015

नयाँ संविधान समावेशी र सहभागितामूलक : महामन्त्री सिटौला

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ संविधान समावेशी र सहभागितामूलक रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको ‘समसामयिक नेपालको जटिल अवस्थामा नयाँ संविधान कार्यान्वयन एवम् नेपाल महिला सङ्घको भूमिका’ विषयक अञ्चलस्तरीय विचार गोष्ठीमा महामन्त्री सिंहले अहिलेको संविधानले महिलाको हकअधिकारलाई ग्यारेन्टी गरेको स्पष्ट पार्नुभयो ।

महामन्त्री सिटौलाले सामूहिक प्रयासबाट संविधान निर्माण भएको भन्दै अब यसलाई कार्यान्वयन गर्नु मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशका हरेक परिवर्तन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयन गर्ने मुख्य कार्यभार पनि हाम्रै पार्टीको हो ।”

उहाँले जब देशमा सङ्कट पर्छ तब नेपाली काँग्रेसको आवश्यकता पर्छ भन्दै
पार्टीको १३औँ महाधिवेशन सम्पन्न गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सिटौलाले अहिले देशमा परेको पीडामा नेपाली काँग्रेस गम्भीर रहेको भन्दै सरकार, मधेसी दल र छिमेकी मुलुकबीच मध्यस्थता आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् बालकृष्ण खाँडले संविधानमा भएका कमीकमजोरीलाई संशोधन गर्न सकिने भन्दै आन्दोलनरत दललाई वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकमा उत्पन्न परिस्थितिलाई कूटनीतिक पहलबाट समाधान गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

नेता खाँडले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाको ठूलो भूमिका रहेको भन्दै अहिलेको संविधानले महिलालाई विशेष अधिकार दिएको स्पष्ट पार्नुभयो ।

सङ्घकी अध्यक्ष डा डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा महिलालाई ३३ प्रतिशत अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनको मुख्य पदमा महिलालाई समेट्नसमेत शीर्ष नेतालाई आग्रह गर्नुभयो ।

महिला सङ्घकी केन्द्रीय सदस्य निर्मला क्षेत्री, हरिप्रभा खड्गी (श्रेष्ठ) लगायतले अधिकांश महिला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विभेद र शिक्षा, स्वास्थ्य, रोजगारमा पछाडि परेकाले उनीहरुको सर्वाङ्गीण विकासका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts