काठमाडौँ, ८ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले राष्ट्रिय समाचार समिति राज्यको एकमात्र आधिकारिक समाचार संस्था भएकाले राज्य र जनताप्रति उत्तरदायी एवम् जवाफदेही भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को निरीक्षणक्रममा आज राससका गतिविधिबारे जानकारी लिएपछि उहाँले संविधानसभाबाट संविधान जारी भई आर्थिक विकासको पथमा मुलुक अगाडि बढेको अवस्थामा राससप्रति पारदर्शी एवम् जवाफदेही सूचना सम्प्रेषण गर्ने जिम्मेवारी थपिएको बताउनुभयो ।
मन्त्री राईले संविधान जारीपश्चात् आर्थिक विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने भगिरथ प्रयास भइरहेको र त्यसमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
सरकार परिवर्तनसँगै राससको व्यवस्थापनको सोचमा परिवर्तन आउने गरेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले भन्नुभयो, “रासस सरकारको साँघुरो घेरामा रहनु हुन्न, यो राज्यको एकमात्र समाचार संस्था हो, राष्ट्रप्रति जिम्मेवार हुुनुपर्छ ।”
देश सङ्घीय संरचनामा गएको अवस्थामा राससको नियमावली र ऐनलाई समयसापेक्ष परिवर्तन गरेर लैजानुपर्नेमा जोड दिँदै उहाँले राससलाई एकमात्र भरपर्दो संस्थाको रुपमा आफ्नो खुट्टामा उभिने संस्थाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
राससलाई देशको भूगोलमा मात्र सीमित नगरिकन चीन र भारतमा आफ्ना संवाददाता राखेर सूचना सम्प्रेषण गर्न सुझाव दिँदै मन्त्री राईले राससलाई नयाँ योजनाका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
राससले परिवर्तनको प्रतिफल जनताले थाहा पाउने गरी दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राससले पनि परिवर्तनको अनुभूति हुनेगरी काम गर्न सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्छ ।”
प्रजातन्त्र र लोकतन्त्रका लागि जनताले पु¥याएको योगदान संस्थागत नभइरहेको अवस्थामा संविधान जारीपश्चात् जनताको अधिकार तथा मागलाई संस्थागत गरिएको उल्लेख गर्दै मन्त्री राईले संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकतामा आँच आउने कुनै पनि कार्यले प्रश्रय पाउन नहुने बताउँदै उहाँले भन्नुभयो, “नेपाल विविधताको जगमा उभिएको देश हो, यो नै संसारसामु हाम्रो परिचय हो, यो जगलाई मजबुत बनाउने गरी संविधानको मुख्य विशेषतालाई बलियो बनाउनुपर्छ, हाम्रा लागि यो सबैभन्दा ठूलो हो ।”
सार्वभौम संविधानसभाका जनप्रतिनिधिको सहमतिमा बनाइएको संविधान भएकाले आ–आफ्ना समुदायको मागका विषयमा प्रतिक्रिया आउनु स्वाभाविक भएको उल्लेख गर्दै मन्त्री राईले भन्नुभयो, “संविधानका विषय जोडेर केही मुद्दा उठाइएका छन्, त्यसलाई अन्यथा मान्नु हुन्न ।”
संविधानमा रहेका अधुरा कुरालाई संशोधन गर्न सकिने बताउँदै उहाँले संविधानको अन्तरवस्तुमा नै आक्रमण गर्ने, संविधानलाई अस्वीकार गर्ने, संविधान च्यात्ने काम अस्वीकार्य भएको बताउनुभयो ।
मन्त्री राईले भन्नुभयो, “राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकतामा आँच पुग्ने काम हामीलाई स्वीकार्य हुन्न, त्यसमा खरो उत्रनुपर्छ, देशको सामाजिक सद्भावलाई खलबलिन दिन हुँदैन ।”
सो अवसरमा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले मुलुकका सञ्चारमाध्यमको समाचारस्रोतका रुपमा रहेको राससले ५४ वर्षदेखि निरन्तर सेवा गरेको उल्लेख गर्दै अङ्ग्रेजी र नेपाली भाषामा समाचार, तस्बिर र श्रव्य सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो ।
गत वैशाख १२ को भूकम्पले राससको भौतिक संरचनामा क्षति पुगेको उल्लेख गर्दै त्यसको मर्मत सम्भारमा ध्यान दिन सञ्चारमन्त्रालयलाई आग्रह गर्दै उहाँले राससलाई आर्थिकरुपमा सबल बनाउन पेस गरिएको योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राससले पछिल्लो समयमा अनलाइन सेवा उपलब्ध गराएको उल्लेख गर्दै उहाँले निकट भविष्यमा श्रव्य सामग्रीलाई व्यवस्थित बनाउन अडियो शाखालाई प्रभावकारी बनाउने र सञ्चारमाध्यमको मागलाई ध्यानमा राख्दै श्रव्यदृष्य सेवा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, राससका महाप्रबन्धक निर्मला आचार्यले राससलाई अगाडि बढाउनका लागि स्रोतको परिचालन र त्यसका लागि आवश्यक बजेट उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।
मन्त्रालयका सहसचिव कविराज खनालले भूकम्पपछिको पुनःनिर्माण तथा मर्मतसम्हारका लागि मन्त्रालयले कार्यक्रम तयार गरिरहेको जानकरी दिँदै अब कार्यक्रम छिट्टै अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
उहाँले राससले उत्पादन गर्ने समाचारका विषयमा सरकारले हस्तक्षेप नगरेको र सोहीअनुसारको नीति भएकाले सम्पादकीय स्वतन्त्रतालाई सरकारले सम्मान गरेको स्पष्ट पार्नुभयो । सहसचिव खनालले राससलाई दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को अभिलेखालयको रुपमा विकास गर्ने कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
राससका प्रशासन प्रमुख सोमनाथ लामिछाने, बरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाल, अन्तर्राष्ट्रिय शाखाका प्रमुख एकराज पाठक, अङ्ग्रेजी विभागका प्रमुख दीपराज सन्ज्याल, रासस कर्मचारी सङ्घका अध्यक्ष राजाराम कार्कीे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, वरिष्ठ समाचारदाता नारायण न्यौपानेलगायतले सेवाको विविधिकरण, भौतिक सम्पत्तिको संरक्षण एवम् व्यवसायीकरण, राससको विकास, कर्मचारीको वृत्ति विकास र सुविधाका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
उहाँहरुले समाचार समिति नीतिको विकास, सम्पादकीय स्वतन्त्रता, राससको ऐन तथा विनियमावली परिवर्तनका विषयमा समयसापेक्ष परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मन्त्री राईलाई अध्यक्ष वाग्ले र महाप्रबन्धक आचार्यले स्वागत गर्नुभएको थियो । रासस
No comments:
Post a Comment