काठमाडौँ, ८ मङ्सिर । विश्वका सञ्चारमाध्यमले २४ प्रतिशत मात्र महिलाका विषयमा बनेका समाचारलाई प्राथमिकता दिने गरेको एक अध्ययनले देखाएको छ ।
ग्लोबल मिडिया मनिटरिङ प्रोजेक्ट (जिएमएमपी)–२०१५ ले ‘समाचार माध्यममा महिलाको चित्रण एवम् प्रतिनिधित्व’ विषयमा सम्पन्न सर्वेक्षणमा पाँच वर्षअघि गरिएको अध्ययन र अहिलेको अवस्थामा कुनै पनि परिवर्तन नआएको उल्लेख गरिएको छ ।
सोमवार सार्वजानिक गरिएको सो प्रतिवेदनमा विद्युतीय माध्यम (अनलाइन, इन्टरनेट र ट्वीटर ) मा समेत २६ प्रतिशत मात्र महिलाबारे अथवा महिलासम्बन्धी समाचार हुने गरेका जनाइएको छ ।
प्रत्येक पाँच÷पाँच वर्षमा गरिने यस प्रकारको सर्वेक्षणले सञ्चारमाध्यममा महिलाको अवस्था, महिलाका समाचारलाई सञ्चारमाध्यमले दिने प्राथमिकताजस्ता विषयलाई समावेश गर्ने गरेको छ ।
अध्ययनअनुसार महिलासम्बन्धी समाचारमा सम्पूर्ण विवरण नआउने गरेको पाइएको थियो । यसैगरी ३७ प्रतिशत समाचार÷रिपोर्टिङ महिलाले गर्दछन् ।
परम्परागत सञ्चारमाध्यमको दाँजोमा पाँच प्रतिशत बढी विद्युतीय माध्यमले महिलाले रिपोर्टिङ गर्ने गरेका छन् । यस्तै समाचार स्रोत अक्सर पुरुष हुने गरेका र उनीहरुमध्ये पनि वरिष्ठ सरकारी अधिकारी र राजनीतिकर्मीले सम्पूर्ण समाचारमा प्रभुत्व जमाएका हुन्छन् ।
युएन वुमेन(संयुक्त राष्ट्र सङ्घीय महिला सम्बन्धी नियोग) को लागि क्रिस्चियन कम्युनिकेसन (व्ह्याक) द्वारा सञ्चालित उक्त परियोजना सन् १९९५ देखि सुरु भएको हो ।सुरुमा ७१ राष्ट्रमा उक्त सर्वेक्षण गरिएकोमा यस वर्ष नेपाल सहित ११४ देशमा सर्वेक्षण गरिएको थियो । नेपालमा अस्मिता प्रकाशनगृहको सहयोगमा अध्ययन गरिएको थियो । सर्वेक्षणले मिडियामा व्याप्त सम्पूर्ण पूर्वाग्रह सन् २०२० सम्ममा अन्त्य हुनुपर्ने खाँचो औँल्याएको छ । रासस
No comments:
Post a Comment