काठमाडौँ, १० मङ्सिर । चालु आवको प्रथम चौमासिक बितिसक्दासमेत काठमाडौँ महानगरपालिकाले मनोरञ्जन शीर्षकमा राजस्व सङ्कलन गर्न सकेको छैन ।
गत वैशाखको भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दीका कारण मनोरञ्जनलगायतका क्रियाकलाप प्रायः ठप्प रहेकाले सो शीर्षकमा राजस्व सङ्कलन हुन नसकेको हो ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार मनोरञ्जन शीर्षकबाहेक अन्य मालपोत घरबहाल कर, विज्ञापन कर, वार्षिक सवारी करलगायतमा भने लक्ष्यअनुरुप नै कर सङ्कलन गर्न महानगरपालिका सफल भएको छ ।
मनोरञ्जन करमा लक्ष्य रु आठ लाख ७५ हजार राखिएको भए पनि अहिलेसम्म कुनै रकम प्राप्त हुन सकेको छैन । चालु आवको प्रथम चौमासिकको तथ्याङ्कअनुसार लक्ष्यभन्दा ११३ प्रतिशतले राजस्व सङ्कलन भएको छ । कुनै शीर्षकमा लक्ष्यभन्दा बढी प्रगति रहे पनि कुनैमा भने पहिलो चार महिना बितिसक्दासम्म कुनै प्रगति भएको छैन ।
चालु आव २०७२÷७३ को प्रथम चौमासिकको लक्ष्य रु २७ करोड ३६ लाख ९६ हजार रहेकामा कात्तिकसम्ममा रु ३१ करोड तीन लाख ८७ हजार राजस्व सङ्कलन भएको महानगरपालिको राजस्व विभागले जनाएको छ ।
भूकम्प र त्यसपछिको इन्धन अभावका कारण आर्थिक गतिविधिमा कमी आएकाले राजस्व असुलीमा अपेक्षित रुपमा शीर्षकसहितको लक्ष्य भेटाउन नसकिएको काफ्लेको भनाइ छ । रासस
No comments:
Post a Comment