Thursday, November 5, 2015

बौद्ध दर्शनको सूक्ष्म ज्ञानको पहिचानमा जोड

काठमाडौँ, १९ कात्तिक । बौद्ध दर्शन मानवकल्याणका लागि उपयोगी भएकाले यसलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बौद्ध दर्शन शान्ति र अहिंसाका लागि विश्वका विभिन्न भागमा बुद्धकालीन समयदेखि प्रचार प्रसार हुँदै आएको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले असल राष्ट्र निर्माण तथा नागरिक उत्पादन गर्न बौद्ध दर्शनमा रहेका सूक्ष्म ज्ञानको पहिचान र थप खोजी गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले मुलुकमा संविधान जारी भएपछि देखिएको अशान्ति तथा अन्योलको अवस्था अन्त्य गर्न बौद्ध साहित्य तथा दर्शनको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान वज्राचार्यले प्राज्ञिक रुपमा नेपालमा थेरवाद र महायान दर्शनको अस्तित्व कायम रहेको बताउँदै महायानबाट नै वज्रयानको विकास भएकाले यसलाई विश्वपरिवेशमा बुझाउन तथा सन्देश प्रवाह गनुपर्र्ने खाँचो औँल्याउनुभयो ।
बौद्ध विद्धान् डा लक्ष्मण शाक्यले ‘नेपालमा प्रचलित बौद्धधर्मका सम्प्रदायहरु’ विषयको कार्यपत्र प्रस्तुत गर्दै नेपालमा प्रारम्भिक बौद्धधर्म सुरु भई मौर्यसम्राट् अशोकका पालासम्म स्थविरवाद र पछि महासाङ्घिक पक्षमा महायान बुद्धधर्मको प्रचार भएको बताउनुभयो ।
प्रतिष्ठानका दर्शन विभाग प्रमुख प्रा दिनेशराज पन्तले प्रतिष्ठानले सबै धर्म तथा दर्शनको विकास गर्न खोज अध्ययन तथा अनुसन्धान गरी प्राज्ञिक उन्नयनका लागि भूमिका निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts