काठमाडौँ, ८ मङ्सिर । नेपालमा उत्पादन भएको सुपारीको निर्यात जिम्मा वर्षौंदेखि एउटै संस्थालाई काम दिएको भन्दै फेयर नेपाल, मेची सुपारी तथा फलफूल विकास संस्था र राष्ट्रिय सुपारी खेती तथा प्रवद्र्धन एवम् कृषि विकास सङ्घले आन्दोलन गरेका छन् ।
आज ती सङ्घले यहाँ पत्रकार सम्मेलन गर्दै सुरुबाटै नेपाल सुपारी खेती विकास संस्थालाई निर्यातको काम दिएको भन्दै अरू संस्था आन्दोलनमा उत्रेका हुन् । सम्मेलनमा राष्ट्रिय सुपारी खेती तथा प्रवद्र्धन एवम् कृषि विकास सङ्घका अध्यक्ष विष्णु सिवाकोटीले वर्षैपिच्छे एउटै कम्पनीलाई काम दिँदा अरू कम्पनीलाई मार परेकाले समानुपातिक तरिकाले काम दिन महासङ्घसँग आग्रह गर्नुभयो ।
मेची सुपारी तथा फलफूल विकास संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक चलखेल गरी वर्षैपिच्छे एउटै संस्थालाई खरिदको काम दिएको आरोप लगाउनुभयो । हाल नेपालको पूर्वका इलाम, सुनसरी, उदयपुर, मोरङ र झापा धेरै सुपारी उत्पादन हुने क्षेत्रहरु हुन् । त्योमध्ये सबैभन्दा बढी झापामा नौ हजार ७७२ मेट्रिक टन वार्षिक उत्पादन हुँदै आएको छ ।
नेपालमा उत्पादन भएको अधिकांश सुपारी भारत निर्यात हुने भएकाले सुपारीबाट राम्रै आम्दानी हुने व्यवसायी बताउँछन् । आन्दोलनरत व्यवसायी गत ६ दिनदेखि महासङ्घको कार्यालयअगाडि रिले अनशन बस्दै आएका छन् । रासस
No comments:
Post a Comment