काठमाडौँ, ८ मङ्सिर । सरकारले देशको वर्तमान आर्थिक अवस्था र सरकारको भावी कार्यदिशाका बारे अर्थ मन्त्रालय मार्फत श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ ।
वर्तमान सरकार गठन भएको अवस्थामा रहेको आर्थिक अवस्था, त्योभन्दा अघिबाटै तराई मधेस केन्द्रित बन्द हडताल, नाकाबन्दी आदि कारणले सिर्जित परिस्थिती र त्यसले अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर राखेर श्वेत जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को आजको बैठकले भूकम्प प्रभावित जनतालाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहनु भएका प्रवक्ता राईले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्रीले सम्बोधनमार्फत भूकम्प प्रभावित क्षेत्रका जनतालाई ‘न्यानो दिने’ प्रतिबद्धता व्यक्त भएअनुसार सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै सरकारले जनताको संविधान जनताकै माझमा भन्ने एक महिने राष्ट्रिय विशेष अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान मङ्सिर २१ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुने प्रवक्ता राईले बताउनुभयो ।
नेपालको संविधानका बारेमा विभिन्न ढङ्गबाट हुँदै आएको टीका टिप्पणी र अफवाह फैलाइरहेको सन्दर्भमा सरकारले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत उक्त राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ।
बैठकले ज्येष्ठ नागरिकलाई उपलब्ध गराइदै आएको सामाजिक सुरक्षा भत्तालाई छिटो छरितो र सुलभ ढङ्गले उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
आठ अतिरिक्त प्रहरी महानिरीक्षकको सरुवा
यसैगरी बैठकले आठ जना अतिरिक्त प्रहरी महानिरीक्षकलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता राईले जानकारी दिनुभयो ।
बैठकले अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी महानिरीक्षकको कार्यालयमा दरबन्दी रहनेगरी विशेष पद सिर्जना गरी राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा, सुरेन्द्रबहादुर शाहलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, विज्ञानराज शर्मा अपराध अनुसन्धान महाशाखामा, प्रतापसिंह थापा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा, वीरेन्द्रबाबु श्रेष्ठ मानस्रोत विकास विभागमा, रमेशशेखर वज्रचार्य प्रशासन विभागमा, केदारप्रसाद साउँद कार्यविभागमा र गणेशराज राई प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा गरेको छ । रासस
No comments:
Post a Comment