Thursday, November 5, 2015

चीनसँगका थप नाका सञ्चालनको प्रभावकारिता अध्ययन हुने

काठमाडौँ, १९ कात्तिक । नेपाल–चीन सीमा क्षेत्रमा रहेका भन्सार कार्यालयलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नेपाल र चीनका अधिकारी सहमत भएका छन् ।

व्यापार सहजीकरण र भन्सार प्रक्रिया सरलीकरणसम्बन्धी नेपाल र चीन (ल्हासा) का भन्सार प्रशासनका अधिकारीहरूको आज यहाँ सम्पन्न २८ औँ वार्षिक बैठकमा त्यस्तो सहमति भएको हो ।

नेपाल–चीन सिमानामा रहेका भन्सार कार्यालयको सञ्चालनमा थप प्रभावकारिता ल्याउन उच्च पदाधिकारीहरू सम्मिलित संयुक्त टोलीले प्रभावकारिता अध्ययन गरी अन्य भन्सार कार्यालयको सञ्चालनमा थप प्रभावकारिता ल्याउने सहमति भएको भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले बैठकपछि सञ्चारकर्मीहरूलाई बताउनुभयो ।

बैठकमा रसुवाको केरुङ नाकालाई थप व्यवस्थित गर्न सबै सरोकारवालासँग नियमित बैठक गरी स्थानीय समस्या समाधान गर्न तथा नेपाली व्यापारी, ट्रक चालकलाई केरुङसम्म पुग्ने व्यवस्था मिलाउन चीनको अध्यागमन विभागलाई अनुरोध गर्न पनि चिनियाँ पक्ष सहमत भएको जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थको ‘लेबल’मा उत्पादन मिति, उपभोग गर्न सकिने मिति, मिश्रण सामग्रीलगायत आवश्यक सूचना नेपाली वा अङ्ग्रेजीमा लेखेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउन चीनका उत्पादनकर्ता, व्यापारी र सम्बद्ध निकायलाई चिनियाँ टोलीले अनुरोध गर्ने भएको छ ।

बैठकमा अवैध व्यापार हुन नदिन दुवै देशका भन्सार कार्यालयले सूचना आदानप्रदान गर्ने, नेपाली ‘क्वारेन्टाइन’ प्रमाणपत्र चीन सरकारद्वारा स्वीकृत गराउन सम्बन्धित निकायसँग शीघ्र छलफल गर्न पनि चिनियाँ टोलीले सहमति जनाएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उपमहानिर्देशक रेग्मीले जानकारी दिनुभयो ।

“नेपाल र चीनबीचको समयमा भएको फरकले नेपाल र चीनको भन्सार कार्यालय खोल्ने र बन्द गर्ने कार्यमा एकरुपता नहुँदा भन्सार जाँचपास समयमा समस्या भएकाले भन्सारसँग सम्बद्ध अन्य निकायसँग समेत छलफल गरी सकारात्मक परिणाम निकाल्न पहल गर्ने विषयमा चिनियाँ वार्ता टोली सहमत भएको छ,” उहाँले भन्नुभयो ।

बैठकमा भएको सहमतिअनुसार सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन र रसुवाको टिमुरेमा निर्माण गर्ने सुक्खा बन्दरगाहको शीघ्र निर्माण आरम्भ गर्न चिनियाँ पक्षले सम्बन्धित निकायसँग समन्वय गर्ने भएको छ ।

त्यसैगरी नेपाल र चीनबीचको व्यापारको प्रमुख नाकाको रुपमा रहँदै आएको तातोपानी नेलामु नाकालाई उच्च प्राथमिकताका साथ सम्भाव्य विकल्पको उपयोग गरी शीघ्र सञ्चालन गर्न नेपालले गरेको अनुरोधलाई चीनले उच्च प्राथमिकता दिने भएको छ ।

भूकम्पका कारण दुवै देशका भन्सार कार्यालय सञ्चालन हुन नसकेको अवस्थामा सम्पर्कका माध्यमलाई अझ व्यवस्थित गरी भन्सार कार्यालयहरु शीघ्र सञ्चालन गर्ने वातावरण बनाइने भएको छ ।

बैठकमा चिनियाँ पक्षको नेतृत्व ल्हासा भन्सारका उपमहानिर्देशक लङ चेङवीले गर्नुभएको थियो । भन्सार अधिकारीहरुको अर्को बैठक आगामी वर्ष ल्हासामा हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts