काठमाडाँै, १९ कात्तिक । अर्थविद् डा विश्वम्भर प्याकु¥यालले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले नाकाबन्दीको असरबारे अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
चीनका लागि पूर्वनेपाली राजदूत राजेश्वर आचार्यले तराईको समस्या आन्तरिक भए पनि आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्न नेपाल चुकेको विचार व्यक्त गर्दै सरकारले तराईमा मानिसको मृत्यु हुँदा समवेदना प्रकट गर्न नसकेकाले अप्ठ्यारो स्थिति आएको बताउनुभयो ।
उहाँले मधेसी मोर्चासँग वार्ता गर्न राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि सबै दलका नेता भएको सर्वदलीय वार्ता टोली गठन गर्नुपर्ने सुझाव दिनुभयो ।
भारतका लागि पूर्वनेपाली राजदूत डा भेषबहादुर थापाले नाकाबन्दीका कारणले नेपालले भोगेको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न ढिला भएको बताउँदै हामीले राज्य तहमा कुरा गर्न नसकेको र राजनीतिक र कूटनीतिक अभ्यासमा कमजोरी भएकाले समस्या आएको विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का सभासद् एवम् परराष्ट्रमामिलाका जानकार डा राजन भट्टराईले चीनसँग नेपालले सम्बन्ध बढाउने कुरालाई भारतका विरुद्ध हो भन्ने बुझ्न नहुने बताउँदै अहिलेको समस्या कूटनीतिक वार्ता र छलफलबाटै टुङ्ग्याउनुपर्ने सुझाव दिनुभयो । रासस
No comments:
Post a Comment