काठमाडौँ, ३० कात्तिक । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले ६५ वर्षदेखिको नेपाली जनताको चाहनाअनुरुप जारी भएको अहिलेको संविधानलाई कार्यान्वयन लान सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
सूचना विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले संविधान कार्यान्वयन हुन नदिन विभिन्न शक्ति लागिरहेका देखिएको भन्दै सरकार बाहिर रहेका दलहरु पनि एकै ठाउँमा उभिएर संविधानको कार्यान्वयनमा सघाउनुपर्ने धारणा प्रकट गर्नुभयो ।
उहाँले वर्तमान सरकारले संविधानको मर्म र भावना अनुरुप पारदर्शी ढङ्गबाट सबैलाई सुशासनको महसुस हुने गरी काम गर्ने विश्वास पनि दिलाउनुभयो ।
तराई बन्द र नाकाबन्दीबीच पनि नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारणलाई निरन्तरता दिइआएकामा उहाँले आभार व्यक्त गर्नुभयो ।
सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले अधिकांश पत्रकारले नियुक्ति पत्रबिना नै काम गर्नुपर्ने अवस्था विद्यमान रहेकाले श्रमजीवी पत्रकार ऐनलाई कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिनुभयो । रासस
No comments:
Post a Comment