काठमाडौँ, १ मङ्सिर । पच्चिस प्लसको समूहले तराईका विभिन्न जिल्लामा भइरहेको बन्द, हडताल र नाकाबन्दीका कारण दुई महिनादेखि जनताले सास्ती खेप्नुपरेकाले मधेसी समुदायले उठाएका जायज माग सम्बोधन गर्न आग्रह गरेको छ ।
समूहले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा वक्ताले नाकाबन्दीका कारण जनताको दैनिकी नै ठप्प भएकाले संविधान संशोधन गरेर भए पनि असन्तुष्ट समुदायको जायज माग सम्बोधन गर्न अनुरोध गर्नुभयो ।
वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठले अति आवश्यक औषधि अभाव हुन नदिन हवाई मार्गबाट भए पनि तुरुन्त आपूर्ति गर्नुपर्ने माग गर्नुभयो । भारतले लगाएको अघोषित नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गरिनाका साथै भारतसँग सरकार दरिलो रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ ।
सरकारका पूर्वसचिव शीतलबाबु रेग्मीले संविधान जारी भइसकेका अवस्थामा त्यसको कार्यान्वयन गर्दै मुलुकलाई आत्मनिर्भरताको बाटामा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
“संविधानका राम्रा र सबल पक्ष तराईका आम जनतालाई बुझाउन सत्ता र विपक्षमा रहेको पार्टीले आफ्नो नेता तथा कार्यकर्तालाई अविलम्ब तराईमा पठाउनुपर्छ”– अन्तक्र्रियामा समूहले वितरण गरेको अपिलपत्रमा उल्लेख छ । भारतले लगाएको नाकाबन्दीका कारण उत्पन्न परिस्थितिको सम्पूर्ण नेपाली मिलेर सामना गर्न समूहले अपिल गरेको छ । रासस
No comments:
Post a Comment